-गोपाल प्रसाद भट्टराई।
मंसिर–०५,अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षक, विद्यार्थी र अभिभावक विच जिवित सम्बन्ध स्थापित हुनुपर्ने बताउनु भएको छ ।
जनता कृष्ण माध्यमिक विद्यालय सन्धिखर्क–८, पकलेको बुधबार सम्पन्न ६५ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले यस्तो सुझाव दिनुभएको हो ।
शिक्षाको विकासका लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने र यि तिनपक्षको भूमिका अझ सक्रिय बन्नुपर्ने उहाँको भनाई छ ।
नगर प्रमुख श्रेष्ठले सन्धिखर्क भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न आफुहरुले बिशेष सहयोग गर्दै आइरहेको तर्क गर्नुभएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मनिराम पराजुलीले गरिब तथा विपन्न विद्यार्थी र अभिभावकले शिक्षाका लागि जनताकृष्ण मा.वि.लाई रोज्ने गरि शिक्षामा फड्को मार्न सुझाव दिनुभएको छ । पछिल्लो समय केहि सामुदायिक विद्यालयमा क्रमिक रुपमा विद्यार्थी आकर्षण बढ्दै गएको चर्चा गर्दै इकाई प्रमुख पराजुलीले राम्रो गर्नेलाई सहयोग गर्न आफुहरु सदैव तयार रहेको बताउनुभएको छ ।
कार्यक्रममा सन्धिखर्क–८ का वडा अध्यक्ष हुमप्रसाद बन्जाडे, किमडाँडा स्वास्थ्य चौकी प्रमुख छविलाल भुसाल, पूर्व प्रधानाध्यापक नारायण प्रसाद पौडेल, बुद्धिजिवी दोर्ण प्रसाद भुसाल, नुवाकोट मा.वि.का शिक्षक बोम बहादुर खत्री, भगवती मा.वि. पाण्डाँडाका प्रधानाध्यापक कृष्ण बहादुर क्षेत्री, लम्ची आधारभूत विद्यालयका प्रधानाध्यापक शशिधर खत्री, पत्रकार अर्जुन भुसाल, स्थानिय सरोकारवाला नारायण अर्याल, राज भुसाल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उहाँहरुले पछिल्लो समय विद्यार्थिहरु विदेशिनेक्रम बढ्दो अवस्था डरलाग्दो हुँदै गएकोले यसलाई रोक्ने गरि शिक्षाको विकास गनुपर्नेमा जोड दिनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद भुसालको अध्यक्षता, शिक्षक रुद्र प्रसाद पोखरेलको स्वागत मन्तव्य र सहायक प्रधानाध्यापक जनक प्रसाद बस्यालको संचालनमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक यम प्रसाद शर्माले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
विद्यालयले सेवा निवृत्त शिक्षकहरू गोपाल प्रसाद पौडेल, तारक बहादुर रायमाझी, हुमप्रसाद भुसाल, तथा विद्यालयको गेट निर्माणकर्ता मोतिराज शर्मा पौडेलको परिवारको तर्फबाट सावित्रा पौडेललाई सम्मान समेत गरेको छ ।
बार्षिकउत्सवको अवसर पारेर विद्यालयले उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार र अक्षयकोषबाट छात्रवृत्ति समेत प्रदान गरेको छ । यस्तै स्काउट टिमद्वारा पिटी एवं गीत तथा नृत्य प्रस्तुत गर्दा स्थानिय राज भुसालले भलिवल खेलाडि विद्यार्थिलाई मेडल र भलिबल प्रदान गरि सम्मान गर्नुभएको विद्यालयले जनाएको छ ।