-गोपाल प्रसाद भट्टराई।
मंसिर–०५, अर्घाखाँची – राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कोटीले समाजमा दलित समुदायप्रति हुँदै आएको विभेद र असमानता अझै हट्न नसकेको गुनासो गरेका छन्।
आयोगले बुधबार अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य पुर्कोटीले समस्याको अन्त्य गर्न दलित आयोगले भूमिका खेलिरहेको दाबी गर्नुभयो ।
स्थानीय सरकारले दलितमैत्री ऐन कानुन बनाएर समतामूलक समाज निर्माण गनुपर्नेमा पालिकालाई उहाँको सुझाव छ ।
नेपालमा दलितहरुले सदियौँदेखि व्यक्ति, परिवार, समुदाय हुँदै राज्यस्तरबाटै विभेद र असमानता भोग्दै आउन वाध्य भईरहेको भन्दै पुर्कोटीले यसको समाधान भए मात्र दलित अधिकारको सुनिश्चितता हुने बताउनुभएको छ ।
आयोगका सदस्य पुर्कोटीले आयोग गठन भएपछि थुप्रै दलित समस्या समाधानको गतिविधि भएको चर्चा पनि गर्नुभएको छ । “आयोग गठनपछि दलित अधिकार प्राप्ती र संरक्षणमा दबाब बढ्न थाल्यो” पुर्कोटीले भन्नुभयो,“ यो सँगै सरकार, समाज र व्यक्तिको भूमिकामा पनि परिवर्तन आउँदै गएको छ ।” स्थानीय सरकारले सामाजिक न्याय सहितको अधिकार सुनिश्चित गर्न संवेदनशील हुनुपर्नेमा पुर्कोटीको जोड छ ।
कार्यक्रममा भूमिकास्थान नगरपालिका नगर प्रमुख झविलाल थापा, उप–प्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत जग्दीशचन्द्र नेपाली, भूमिकास्थान–४ का वडाअध्यक्ष बाबुराम पन्थी, भूमिकास्थान–१० का वडाअध्यक्ष खगिश्वर पन्थी, कार्यपालिका सदस्य ठाकुर सौराग, केशरा परियार, लेखा समिति संयोजक नारायण प्रसाद खनाल लगायतले बोल्नुभएको थियो ।
भूमिकास्थान नगरपालिकाका कम्युटर अधिकृत शेषकान्त घिमिरे ओेसनको सञ्चालन र योजना शाखा अधिकृत हरिश्चन्द्र भुसालको स्वागत मन्तव्यमा सम्पन्न
कार्यक्रममा बोल्दै उहाँहरुले नगरपालिकामा रहेका सबै जाती, भाषा, संस्कृतिका नागरिकलाई समेटेर विकास र सेवा प्रवाहको काममा हातेमालो गर्ने वचन दिनुभएको छ ।
कार्यक्रममा कार्यपालिका सदस्य, नगरसभा सदस्य, दलित अगुवा, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सञ्चारकर्मी, अन्य सरोकारवाला र सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो ।
थप तस्बिर: