काठमाडौं । पशुपतिमा बाला चतुर्दशीमा लाग्ने मेलाको सबै तयारी पुरा भएको छ । शुक्रबार रातभर जाग्राम बसेर पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहानै सतबीज छर्न सबै तयारी पुरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
दिवंगत पितृका नाममा राति बत्ती बालेर चतुर्दशीका दिन बिहान सत्बीज छर्ने प्रचलन छ । सत्बीज छर्ने भक्तजनको सुविधाका लागि यस वर्ष कैलाश क्षेत्रमा पसल राख्न नदिइने जनाइएको छ ।
भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिनुभयो ।
दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो २ बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले २१ सय रुपैयाँका दरले शुल्क लिने बताइएको छ ।
बाला चतुर्दशीको अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायतका पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ ।