-गोपाल प्रसाद भट्टराई मंसिर–१९,अर्घाखाँची ।
अर्घाखाँचीको ग्रामीण भेगमा उपभोग्य बस्तुको लेभल हेर्ने बानीको अझैपनि विकास नभएको पाइएको छ । भूमिकास्थान नगरपालिकाको सहकारी तथा उद्योग शाखाको आयोजनामा जिल्लाको भुमिकास्थान–५, असुरकोटमा गरिएको बजार अनुगमनको क्रममा यस्तो पाइएको हो ।
विभिन्न निकायबाट अनुगमन, सूचना सम्प्रेषण सचेतनामुलक अभियान संचालन गरेपनि उपभोक्ताले मात्रै नभएर व्यवसायिले समेत दैनिक उपभोग्य बस्तुमा हुनुपर्ने उत्पादन मिति, एक्सपायर मिति र बिक्री मूल्य जस्ता लेभल हेरेर खरिद बिक्रि नगरेको पाइएको अनुगमन टोलिका संयोजक तथा भुमिकास्थानका सहकारी एवं उद्योग शाखा प्रमुख शंकर अधिकारीले बताउनुभएको छ ।
अनुगमन टोली संयोजक अधिकारीको नेतृत्वमा कृषि प्राविधिक सहायक युवराज आचार्य, राजश्व शाखा प्रमुख जगत प्रसाद भुसाल, पत्रकार गोपाल प्रसाद भट्टराई, खिल्जी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक सुर्य प्रसाद भट्टराई, भूमिकास्थान–५ का वडा सचिव सुशिल खनाल, भूमिकास्थानको उद्यम विकास सहजकर्ता बन्दना रावत र प्रहरी सहायक हवल्दार शुरेन बहादुर मगर सहित खटिएको टोलीले असुरकोटको पौवा, हुलाक, बुदुनमारा,आरनटोल र उदयठाँटीमा रहेका सबैखाले पसलको अनुगमन गरेको छ ।
अनुगमन गर्दा केहि पसलहरुमा मुल्यसुची नभएको, विद्यालय हाताभित्र पर्ने कहि पसलमा मदिरा तथा सुर्तिजन्य पदार्थ राखिएको, बेकरी तथा चाउमिन उद्योगमा नापतौल मेसिन मापदण्ड बमोजिम नभएको, सरसफाईमा ध्यान नपुगेको पाइएको छ । निजहरुलाई नियमानुसार सेवा प्रवाहमा ध्यान दिन टोलीले निर्देशन गरेको छ । यस्तै केहि पसलमा मसलाजन्य, पेयपदार्थ, सुर्तिजन्य, मिठाइ र जंकफुड जस्ता म्याद गुज्रिएका सामान र इजाजत नलिइ बेच्न राखेका सामानहरु जफत गरिएको अनुगमन टोलीले जनाएको छ । यस्तै ब्यवसायीहरुले पसल दर्ता नगरेको, दर्ता अनुसारको सेवा प्रवाह नगरेको, नविकरण नगरेको, बोर्ड तथा मुल्यसुची पनि नराखेको पाइएको टोली संयोजक अधिकारीको भनाइ छ ।
उहाँका अनुसार टोलीले म्याद गुज्रिएका ५ हजार बराबरको सामान जफत गर्नुका साथै दर्ता नभएका र नविकरण नगरेका पसलेहरुलाई ३५ दिन भित्रमा नगरपालिकामा गइ पसल दर्ता र नविकरण गर्न निर्देशन गरिएको टोलिले बताएको छ ।
म्याद गुज्रिएका, लेभलिङ्ग नगरिएका र गुणस्तरहिन खाद्य बस्तु बिष सरह हुने भएकोले सचेतता पूर्वक खाद्यबस्तु खरिदबिक्रि गर्न भूमिकास्थान नगरपालिकाले आग्रह गरेको छ ।