६२ बर्ष पछि अविश्वासकाे प्रस्ताववाट बामपन्थीहरूले ढलाए फ्रान्सेली सरकार

 

पेरिस, २० मंसीर ।  फ्रान्समा ३ महिनाअघि बनेको प्रधानमन्त्री मिसेल बार्नियरको सरकार बुधबार पतन भएको छ ।

फ्रान्सको संसदमा प्रधानमन्त्री बार्नियरको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । अब उनले आफ्नो सम्पूर्ण मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपति म्याक्रोनलाई बुझाउनु पर्नेछ।

फ्रान्सको ६२ वर्षको इतिहासमा संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि प्रधानमन्त्रीले सत्ता गुमाएको यो पहिलो पटक हो । संसदमा वामपन्थी गठबन्धनले पेश गरेको अविश्वासको प्रस्तावको पक्षमा ३३१ मत परेको थियो भने जबकी प्रस्ताव पारित गर्न २८८ मत मात्र आवाश्यक थियो ।

अब तीन महिनाअघि मात्रै नियुक्त भएका कन्जरभेटिभ नेता बार्नियरले बिहीबार राजीनामा दिन सक्नेछन् । उनलाई फ्रान्सको इतिहासमा सबैभन्दा छोटो अवधिसम्म सरकार चलाउने प्रधानमन्त्री मानिने छ।

बार्नियरले अविश्वासको प्रस्ताव अघि आफ्नो अन्तिम भाषणमा भनेका थिए – ‘फ्रान्स र फ्रान्सेलीहरूको सेवा गर्न पाउनु मेरो लागि सम्मान हो।’ फ्रान्सको संविधान अनुसार, बर्नियरको राजीनामा पछि राष्ट्रपति म्याक्रोनले नयाँ प्रधानमन्त्री नियुक्त गर्नु पर्नेछ, किनकि फ्रान्समा जुलाई २०२४ मा मात्र चुनाव भएको थियो। यस्तो अवस्थामा जुलाई २०२५ सम्म चुनाव हुन सक्दैन ।

संसदमा अहिले कुनै पनि दलको बहुमत छैन । जसका कारण फ्रान्समा राजनीतिक अस्थिरता अझै बढ्न सक्छ ।