काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले विद्युत प्राधिकरणको कार्यालयमा मन्त्रीले कार्यकक्ष बनाएर बसेको भन्दै विरोध जनाएको छ ।
बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टी केन्द्रिय कार्यालयको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको तर्फबाट विरोध जनाउनुभएको हो ।
प्रवक्ता सापकोटाले विद्युत प्राधिकरणले लाइन काट्ने कुरा गर्दा मन्त्रीले कार्यकक्ष नै बनाएर बस्न उचित नरहेको बताउनुभयो । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बुधवार प्राधिकरणको कार्यालयमा कार्यकक्ष बनाइ बस्नुभएको थियो । सोही विषयलाई लिएर माओवादी केन्द्रले बिरोध जनाएको हो ।
माओवादी केन्द्रले सरकारले विद्युत प्राधिकरणले गरेको काममा अवरोध सिर्जना गरेको आरोप समेत लगाएको छ । यद्यपि विद्युत प्राधिकरणको अध्यक्ष भने उर्जामन्त्री रहने व्यवस्था छ । उहाँले सरकार विचौलियालाई जोगाउने, भ्रष्टाचारीलाई जोगाउने काममा लागेको आरोप लगाउनुभयो ।
बैठकले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पालिका सम्मेलन र खबरदारी सभाको बारेमा छलफल गरेको प्रवक्ता सापकोटाले बताउनुभयो । साथै बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल भएको बताउनुभयो । उपचुनावले पार्टीको बारेमा राम्रो सन्देश प्रवाह गरेको माओवादी केन्द्रको निस्कर्ष रहेको छ ।
प्रवक्ता सापकोटाले एक्लै उपनिर्वाचनमा जाँदा जनताले स्वीकारेको बताउनुभयो । उहाँले ०६४ पछि एकतावद्ध भएर जनतामा जाँदा जित सुनिश्चित भएको बताउनुभयो ।
प्रवक्ता सापकोटाले समस्यामा परेका जनतालाई राहत मिल्नेगरी माओवादी अघि बढ्ने बताउनुभयो ।