नेपाली राजनीतिको पहिलो समस्या भ्रष्टाचार : अध्यक्ष नेपाल

 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिको पहिलो समस्या भ्रष्टाचार भएको बताउनुभएको छ ।

सोफा उत्पादक संघ नेपालको प्रथम साधारण सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले भ्रष्टाचारले गर्दा राजनीति बद्नाम भएको बताउनुभयो । उहाँले भ्रष्टाचारको अन्त्य गर्न आफैँबाट पहल थाल्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार आफूले पनि नगर्ने र अरुलाई पनि गर्न नदिने एवं भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने हो भने सबै डराउने बताउनुभयो ।

अध्यक्ष नेपालले बेथितिका बिरुद्धमा जुध्न थाले मात्रै थिति बस्ने बताउनुभयो । नेपाली राजनीतिको अर्को समस्या व्यक्तिवाद र अहंकारपनामा रहेको उल्लेख गर्नुभयो । उहाँले संकीर्ण सोच राख्ने र सामरिक दृष्टिकोण नराख्ने कुराले पनि समस्या आइरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले बजारको सुनिश्चितता गर्न नसके उत्पादनमा आकर्षण घट्ने बताउनुभयो । उहाँले देशभित्रै रोजगारीको सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले समग्र बजेट निर्माणको प्रक्रियामा गम्भीर पुनरावलोकनको आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय उत्पादनको वृद्धि गर्ने कुरामा सबैको जोड हुनुपर्ने उल्लेख गर्नुभयो ।