काठमाडौं, २९ मंसीर । काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ ।यो जीतसँगै काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ सम्भावनालाई थप बलियो बनाएको छ ।
किनभने, यो फराकिलो जितसँगै काठमाडौंले ६ खेलमा आठ अंक जोडेको छ । पराजित पोखरा समान खेलबाट चार अंकमा सिमित रहेको छ ।
त्रिभुनव विश्वबिधालय, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा चार विकेट गुमाउँदै त्यो लक्ष्य पुरा गरेको थियो ।
पोखराका लागि स्टेफन स्किनाजीले ६०, माइकल लेभिटले ३२, जेरार्ड इरास्मसले अविजित २५ र भीम सार्कीले २२ रन बनाउन सफल भए भने काठमाडौंका लागि विपिन खत्रीले तीन र माइकल लिस्कले एक विकेट लिएका थिए ।
छैटौं ओभरको तेस्रो बलमा विपिन खत्रीले माइकल लेभिटलाई विकेटकिपर आन्द्रेस गौसबाट स्ट्याम्पिङ गराए उनले १८ बलमा ६ चौका र एक छक्काको मद्दतले ३२ रन बनाउन सफल भए ।
भीम सार्की १२औं ओभरको चौथो बलमा पेभेलियन फर्किए । २० बलमा समान एक चौका र छक्काको मद्दतले २२ रन बनाएका उनलाई माइकल लिस्कले गौसबाट क्याच गराए ।
स्टेफन स्किनाजी १३औं ओभरको पहिलो बलमा ६० रन बनाएर पेभेलियन फर्किए । ३४ बलमा १० चौका प्रहार गरेका उनलाई विपिनले एलबिडब्ल्युको धरापमा पारे । सोही ओभरको अन्तिम बलमा कप्तान करण केसीलाई विपिनले गौसबाट स्ट्याम्पिङ गराए । उनले एक रनमात्रै बनाउ सके ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३८ रनको योगफल तयार पार्यो ।