प्राप्त उपलब्धिलाई थप बलियो बनाउने गरि संविधान संशोधन गर्नुपर्छ : डा. भट्टराई

 

काठमाडौँ  पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिलेको उपलब्धिलाई थप बलियो बनाउने गरि संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित संविधान संशोधन अग्रगामी कि पश्चगामी ? विषयक कार्यक्रममा भट्टराईले ठूलो आन्दोलन र मेहनतका साथ जनताको संविधान निर्माण गर्न सफल भएको भन्दै अहिलेको उपलब्धिलाई थप बलियो बनाउने गरि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

उनले संविधान सहमतिको दस्तावेज भएकाले जनताको अधिकार स्थापित गर्नका लागि सबैको सहमतिमा संशोधन गर्न सकिने बताए । संशोधनका नाममा मुलुकलाई पश्चगमनतर्फ फर्काउने कोसिश स्वीकार्य नहुने उनको भनाइ छ ।

भट्टराईले मुलुकको स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने धारणा राखे ।

उनले संविधान संशोधन गर्दा विभिन्न शक्तिहरूलाई खेल्ने ठाउँ दिन नहुने बताए । लडेर बनाएको जनताको संविधान बचाउनका लागि सबै एक हुनुपर्ने उनले बताए ।