काठमाडौं । आज मंसिर महिनाको पूर्णिमा तिथि । आजको दिन धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली पर्वका रुपमा मनाइँदैछ ।
नेपाली समाजमा धानलाई लक्ष्मी वा समृद्धिको प्रतीक मानेर पूजा गर्ने परम्परा रहेको छ । यस दिन धानको पर्वत बनाएर पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ ।
नयाँ उब्जिएको खाद्यान्न आफूले खानुभन्दा पहिले देवता र पितृलाई चढाएर मात्र आफूले खाने परम्परा अनुसार विशेषगरी पहाडी क्षेत्र तथा अन्य स्थानमा बसोबास गर्ने समुदायले कुलपूजा र गोठपूजा गर्ने चलन छ ।
यसैगरि नेवार समुदायले आज योमरी पुन्ही मनाउँदै छन् । चामलको पीठो, चाकु, कालो तीलको योमरी बनाएर यस वर्ष भित्र्याएको अन्नबालीसहित भकारी पूजा गर्ने चलन छ । यसरी पूजा गरेमा वर्षभरी अन्नको अभाव नहुने जनविश्वास छ । योमरी पून्हीको अवसरमा आज देशका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै छ ।
यस्तै, किराँत समुदायले आफ्नो महान पर्व उधौली मनाइरहेका छन् । हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि शुरु हुने उधौली पर्व मानिस, जनावर र चराचुरुंगी लेकबाट बेसितिर बसाइँ सर्ने समय भएको संकेतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाईन्छ ।
ज्यापु दिवस पनि आजै भएकाले देशभरका ज्यापु समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज ज्यापु दिवस मनाउँदै छन् ।
यस्तै आज नेपाली समाजका विभिन्न समुदायले मंसिरे पूर्णिमाका रुपमा पर्व मनाउँदैछन् ।