-गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची।
अर्घाखाँचीको सन्धिखर्क–१ निवासी शैक्षिक व्यक्तित्व गोमा सापकोटा रेग्मीले स्थानिय जनता आधारभुत विद्यालयमा अक्षयकोषको स्थापना गर्नुभएको छ ।
हरेक वर्ष गरिब तथा जेहेन्दार एक छात्रा र एक छात्रलाई पुरस्कृत गर्ने गरि रेग्मीले सन्धिखर्क–८ नेपालीचौरमा रहेको जनता आधारभूत विद्यालयमा ६० हजार रुपैयाँको गोमा प्रतिभा पुरस्कार अक्षयकोषको स्थापना गर्नुभएको हो ।
दोस्रो त्रैमासिक परिक्षाको नतिजा सार्वजनिक गर्न शुक्रबार विद्यालयले आयोजना गरेको अभिभावक दिवसको अवसर पारेर समाजसेवी रेग्मिले ६० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सन्धिखर्क–२ का वडा अध्यक्ष मोतिजङ्ग रायमाझीले अक्षयकोषबाट प्रदान गरिने पुरस्कारले विद्यार्थीलाई अझ हौसला प्रदान हुने बताउनुभएको छ । यस्ता कार्यहरु नमुना र सन्देश मुलक हुनेभएकोले यस्ता कार्यको सिको सबैले गर्नुपर्नेमा उहाँको जोड छ । जनता आधारभूत विद्यालय सन्धिखर्कको मात्र नभइ अर्घाखाँचीकै उत्कृष्ट गहना भएको भन्दै नगरप्रवक्ता समेत रहनुभएका वडाध्यक्ष रायमाझीले विद्यालयको शिरवृद्धिमा सबै लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा अक्षयकोषदाता गोमा सापकोटा रेग्मीले विद्यालयमा गरिएको अक्षयकोष स्थापना निकै प्रभावकारी र लाभदायक हुने विश्वाँस व्यक्त गर्नुभयो । शिक्षा क्षेत्रको उन्यनका लागि अक्षयकोष स्थापना गरेको उहाँको भनाई छ । विद्यालयको लागि आगामी दिनमा पनि सक्दो सहयोग गर्ने उहाँको वचन छ ।
अक्षयकोष स्थापनाले आफुहरुलाई थप उत्साहित बनाएको बताउँदै प्र.अ. गिता बेल्बासेले गोमा प्रतिभा पुरस्कार बिधान २०८१ प्रस्तुत गर्नुभयो । प्र.अ. बेल्बासेले गोमा सापकोटा रेग्मीले गरेको सहयोगको प्रशंसा गर्नुभयो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष गोकर्णराज बन्जाडे, पत्रकार केशव पन्थी लगायतले बोल्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शिव प्रसाद पोख्रेलको अध्यक्षता, शिक्षक बिमला पोख्रेलको स्वागत मन्तव्य र शिक्षक शालिकबाबु पोख्रेलको संचालनमा सप्पन्न कार्यक्रममा स्थानिय शिक्षाप्रेमी तथा अभिभावकको उल्लेख्य सहभागिता रहेको थियो ।
यो अक्षयकोष स्थापनासंगै जनता आधारभुत विद्यालयमा तेस्रो अक्षयकोष स्थापना भएको छ । पहिलो अक्षयकोष सोही बिद्यालयका संस्थापक तथा पुर्व प्र.अ. कृष्ण प्रसाद बन्जाडेले स्थापना गर्नुभएको छ भने दोस्रो अक्षयकोष सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाले गरेको सहकर्मी शालिकबाबु पोख्रेलले जानकारी दिनुभएको छ ।