इस्लामवाद, ७ पुस । पाकिस्तानमा एक आतंकबादी हमलामा १६ सैनिकको मृत्यु भएको छ । पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको सेनाको चौकीमा शनिबार आतङ्ककारीहरूले आक्रमणमा परी १६ पाकिस्तानी सैनिक मारिएका हुन ।
सो हमलामा परी थप ५ सैनिक गम्भिर घाइते भएका छन् । घटना अफगानिस्तान सीमाबाट ४० किलोमिटर टाढा माकिनमा भएको हो ।
पाकिस्तानी सेनाका एक अधिकारीका अनुसार ३० भन्दा बढी आतंककारीले सेनाको चौकीमा करिब २ घण्टा हमला गरेका थिए । सो क्रममा आतंककारीहरूले पोस्टमा रहेको ताररहित उपकरण र कागजातहरू सहित धेरै चीजहरूमा आगो लगाएका थिए भने यसपछि सबैजना घटनास्थलबाट भागेका थिए ।
आक्रमणपछि उक्त क्षेत्रको घेराबन्दी सुरु गरिएको छ । घटनास्थल नजिकै आतंकवादीहरुको खोजी भइरहेको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन । यस घटनाको जिम्मा तेहरिक ए तालिबान पाकिस्तान अर्थात टीटीपीले लिएको छ ।
आतंकवादीहरूले सैन्य पोस्टमा आक्रमणलाई आफ्ना वरिष्ठ कमाण्डरहरूको शहीदको बदलाको रूपमा वर्णन गरेका छन । समाचार अनुसार आक्रमणको क्रममा आतंककारीहरूले मेसिन गन, नाइट भिजन टेक्नोलोजीलगायत धेरै महत्त्वपूर्ण सैन्य उपकरणहरू लुटेर लगेका छन।
गत डिसेम्बर १८ मा पाकिस्तानी सेनाले पाकिस्तानको खैबर पख्तुनख्वामा तीन अलग अलग अपरेशनहरू गरेको थियो, जसमा उसले ११ आतंकवादी मारेको दाबी गरेको थियो। भनिन्छ, त्यसकै बदलामा पाकिस्तानी तालिवान समुहले सो आक्रामण गरेको हो ।