गोपाल प्रसाद भट्टराई पौष–०८,अर्घाखाँची
अर्घाखाँची – अर्घाखाँचीको शान प्रशिद्ध सुपादेउराली मन्दिरमा मुस्लिम समुदायका इन्सु मियाले पाठो बलि दिएर पुजा गर्नुभएको छ । इन्सुको छोरी मधु खातुन र ज्वाई शंसेर अलीले सुपादेउरालीमा भाकल गरि मागेको कुरा पुरा भएपछि आइतबार सुपादेउरालीमा गई छोरी÷ज्वाईको तर्फबाट बुवा इन्सुले पाठो बलि दिएर पुजा गर्नुभएको हो ।
छत्रदेव–१ चिदिका घर भई रोजगारीको शिलशिलामा हाल भारतको दिल्लीमा रहनुभएका छोरी मधु र ज्वाई शंसेर आउन नपाएपनि भाकल पुरा भएको खुशियाली र आग्रहमा आफुले पाठो बलि दिएर पुजा गरेको बुवा इन्सुमियाको भनाई छ ।
“२०७७ सालमा आएको काभिड–१९ महामारीको बखत नेपाल आएको समयमा छोरी–ज्वाईले सुपादेउरालीको भाकल गर्नुभएको रहेछ ।” मधुको बुवा इन्सुले भन्नुभयो, “मलाईपनि यो कुरा थाहा थिएन तर अहिले छोरीले फोन गरेर सुपादेउरालीमा हामीले गरेको भाकल पुरा भयो, पाठो पुजा गर्दिनुस बुवा भनेपछि मैले पाठो बलि दिएर पुजा गरेको छु ।” इन्सुले अगाडि थप्नुभयो, “ यसबाट म निकै खुशी छु यसले हाम्रो धार्मिक सद्भाव र सुपाको गरिमा अझ बढेर जानेछ ।”
लुम्बिनीकै प्रमुख र नेपालको चर्चित १ सय धार्मिक पर्यटकिय स्थलमा पर्ने सुपादेउरालीमा गरेको भाकल पुग्दै गएपछि त्यहाँ दर्शन गर्ने भक्तजनको घुईचो दिनप्रतिदिन बढेर गएको छ । सुपामाताको महिमा र यसप्रति नागरिकको आस्था समेत बढेर गएको पाइन्छ ।
नेपालमात्रै नभएर छिमेकी देश भारत तथा तेस्रो मुलुकबाट समेत दैनिक हजारौंको संख्यामा भक्तजनहरु आउने र दर्शन गर्नेक्रम बढेर गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सबहादुर के.सी.को भनाई छ । मन्दिरमा दैनिक आउने दर्शनार्थीहरूले चढाउने भेटी, सुपादेउराली मातालाई सम्झेर भाकल गरेबापत चढाइने भेटीबाट संकलित आम्दानीबाट स्थानिय दुई विद्यालयको खर्च व्यवस्थापन र अन्य विभिन्न सामाजिक काममा सहयोग हुँदै आएको छ । भेटीबाट मन्दिरमा पुजारी, कर्मचारी, पूजापाठमा चाहिने सामग्री खरिदमा गरिने खर्चका साथै ती विद्यालयमा चार÷चार कोठे भवन पनि निर्माण गरिएको छ । मन्दिरकै भेटीले तीन वर्षको अवधिमा खाँचीकोट मन्दिर, विद्यालयमा शौचालय निर्माणका लागि खर्च गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
अर्घाखाँचीको प्रसिद्ध धार्मिक आस्थाको केन्द्र सुपादेउराली मन्दिर धार्मिक पर्यटकीय गन्व्यका रूपमा विकास भएको छ । धार्मिक आस्था राखेर सुपादेउरालीको दर्शन गर्न आउने दर्शनार्थीको आकर्षण बढ्दै जाँदा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको हो ।
शक्तिपीठका रूपमा परिचित सुपादेउराली मन्दिर वरपरको मनोरम प्राकृतिक दृश्य र विभिन्न संरचना निर्माणले पर्यटकीय गतिविधि बढ्न थालेको छ । वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित मन्दिरबाट प्राकृतिक वातावरण र हरियाली मनोरम दृश्यावलोकन गर्न पाइन्छ ।
सुपादेउरालीमा छिमेकी जिल्ला गुल्मी, कपिलवस्तु, पाल्पा, रुपन्देही, प्यूठानलगायत देशभर, भारत तेस्रो मुलुकबाट समेत तीर्थालुको बाक्लो उपस्थिति हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिरमा खासगरी फागुन, चैत, वैशाख जेठ, असोज, कात्तिक र मङ्सिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । सन्धिखर्क–७ स्थित खाँचीकोटमा नरपानी र फलमेको दुई अग्लो महाभारतको बीचमा रहेको यस मन्दिरमा एकादशी, औँसी र पूर्णिमा बाहेकका दिनमा भाकल गर्न पाइन्छ । विशेषगरी शनिबार भाकल गर्नेहरूको भीड लाग्ने गर्दछ । जे भाकल ग¥यो त्यो पुग्ने जनविश्वासले गर्दा पनि यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किमी दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूलाठूला पहाडको खोँचमा प्राचीन शैलीमा यस मन्दिर निर्माण गरिएको छ ।
सुपादेउराली र नरपानी आउने पर्यटकलाई जङ्ग बहादुर जन्मेको मथुरा दरबार, न्वारन गरेको बल्कोट पौवा, पाणिनि तपोभूमि, अर्घा दरबार, मालारानी मन्दिर, नृसिंहस्थान,सेङलेङ पाथिभरा मन्दिर लगायतका धार्मिक तथा ऐतिहासिक प्राकृतिक स्थलमा लगेर पर्यटनबाट युवालाई स्वरोजगार बनाउन सकिने प्रशस्त आधार रहेको जानकारहरुको भनाई छ ।
बाइसे–चौबिसे शाहवंशीय राजाको पालामा निर्माण भएको मन्दिरमा २०४० देखि दैनिक पूजा गर्न थालिएको हो । २०६० सालमा बाबा नरनारायणले झन्डै डेढ करोडको लगानीमा काठमाडौँ र भक्तपुरका ऐतिहासिक सम्पदामा प्रयोग भएका प्राचीन निर्माण सामग्रीबाट मन्दिर निर्माण गरेपछि दर्शन गर्न आउने भक्तजन बढेका हुन् ।