मान्छे खुवाएर बाघ पाल्न सक्दैनौं : प्रधानमन्त्री ओली

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको वनको क्षमताअनुसार १५० भन्दा बढी बाघ पाल्न नसकिने भएपनि अहिले नेपालमा ३ सय भन्दा बढी बाघ रहेको बताउनुभयो । अरुले भनेअनुसार बाघको संख्या अब बढाउन नसकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । नेपालले मित्र राष्ट्रहरुलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाललाई ३० प्रतिशत मात्रै जंगल भए पुग्ने उल्लेख गर्दै नेपालले गरेका कामको सही मूल्यांकन र सम्मान हुन नसके अरु देशका लागि जंगलको संरक्षण गर्न नसक्ने बताउनुभयो । उहाँले नेपाललाई ४७ प्रतिशत जंगल राखेको सम्मान र कदर नगरे ३० प्रतिशत मात्रै जंगल राख्ने र बाँकी भूभागमा अन्न उब्जाएर खाने बताउनुभयो । नेपालको अरुले चिन्ता नगर्ने तर नेपालले अरुको चिन्ता गरिरहनुपर्छ भन्ने नरहेको उहाँको भनाइ थियो ।

  • image