कर्णाली र लुम्बिनी प्रदेशबीच सहकार्यलाई सुदृढ बनाउने सहमति

-सरला सुबेदी ।

बाँके । कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले दुवै प्रदेशको आर्थिक, सामाजिक र प्रशासनिक विकासलाई टेवा पुर्‍याउन सहकार्यलाई थप बलियो बनाउने सहमति गरेका छन्। प्रदेशहरूको समन्वयात्मक बैठकले बजार पहुँच, कृषि उत्पादनको प्रवर्द्धन, सूचना प्रविधिको प्रयोग र सुशासन प्रवर्द्धनका लागि सहकार्य गर्ने निर्णय गरेको छ।

बैठकमा कर्णाली प्रदेशको फलफूल, जडीबुटी, अर्ग्यानिक तरकारी लगायतका उत्पादनलाई लुम्बिनी प्रदेशका मुख्य बजार केन्द्रहरूसम्म पुर्‍याउने तथा लुम्बिनी प्रदेशका खाद्यान्न र अन्य कृषि उत्पादनलाई कर्णालीका बजार केन्द्रहरूसम्म पुर्‍याउन बजार पूर्वाधार विकासमा जोड दिने सहमति भएको छ।

बैठकले दुवै प्रदेशबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्न उत्पादनहरूको प्रवर्द्धन र वितरणलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ। कर्णालीको जैविक उत्पादन र जडीबुटीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्‍याउने योजना निर्माणमा पनि दुवै प्रदेशले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

दुवै प्रदेशले सुशासन प्रवर्द्धन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सूचना प्रविधिको उपयोगलाई प्राथमिकतामा राखेका छन्। प्रविधिमार्फत सहज, छिटो र पारदर्शी सेवा प्रवाहको लागि आवश्यक पूर्वाधार र दक्ष जनशक्ति विकासमा प्रदेश सरकारहरूबिच सहयोग गरिने सहमति भएको छ।