दुई तिहाइको सरकारले जनतालाई झुटो आश्वासन बाँड्यो : बालेन

मेयर बालेनले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै अहिले सरकारमा प्रधानमन्त्री,  गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम भएन भने कहिल्यै नहुने बताए। 

काठमाडौं, पुस १२ काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह(बालेन)ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५० औं वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रकृयामा छ भनेर झुटो आश्वासन मात्र देखाएको बताए।

‘५० औं वर्षदेखि जग्गाको समस्या समाधान भएको छैन। त्यही कारण मुआब्जा प्राप्त भएको छैन। यसपाली त बहुमत भएको दुई तिहाईको सरकार छ। त्यही पनि केही गरेको छैन,’ उनले भने, ‘कोही नेताले तपाईंहरुको काम प्रकृयामा छ। काम हुँदैछ भनेर आश्वासन दिन आउनुभएको छ भने नपत्याउनु होला। कुनै प्रोसेस भएको छैन। केही काम भएको छैन।’

मेयर बालेनले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै अहिले सरकारमा प्रधानमन्त्री,  गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम भएन भने कहिल्यै नहुने बताए।

‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ। यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन। अहिलेको दुई तिहाईको सरकारले चाहेमा जे पनि गर्न सक्छ,’ उनले भने, ‘गृहमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै  । अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन।’