काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेसले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्न थालेको बताएका छन् ।
रुकुम पूर्वको भूमे गाउँपालिकाको अधिवेशन उद्घाटन समारोहमा बोल्दै उपमहासचिव पुनले वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले कांग्रेसका नेताहरूले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताएका हुन् ।
पूर्वअर्थमन्त्री समेत रहेका पुनले भने, ‘एमालेका नेताहरू आएर बीआरआई पनि भयो अव कम्युनिस्टहरू मिलौँ भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ । कांग्रेसका नेताहरू आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा–एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ । उहाँहरू विकल्पमा छलफल गरौँ भन्न खोज्नुहुन्छ ।’
उनले माओवादी २०८४ सालको चुनावसम्म सरकारमा नजाने दाबी गर्दै पुनले भने, ‘हामी अव सरकारमा जाने होइन । ०८४ सम्म जाँदैनौँ भनेका छौँ । सडक र सदनबाट जनताका मुद्दा उठाउँछौँ, अव हामी समाजवादी गणतन्त्रको विकल्पसहित सरकारमा भएका स्थानीय तहहरूमा काम गर्छौं । ’
श्रीलंका र बंगलादेशमा भएको राजनीतिक परिवर्तनबाट पाठ सिकेर माओवादी अघि बढिरहेको उनको भनाइ थियो ।