पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव साँझ सम्मै चिसोको मात्रा रहने, पानी पर्न सक्ने

 

काठमाडौं, १३ पुस । पश्चिमी न्यून चापीय प्रणालीको कारण शुक्रबारको साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको छ ।

जल तथा माैसम बिभाग, पुर्वानुमान महाशाखाका अनुसार सो प्रणालीको प्रभावका कारण मिति २०८१ पुस १२ गते शुक्रबार अपरान्ह देखि मिति २०८१ पुस १३ गते शनिबारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका अधिकांश स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको छ ।

तसर्थ, वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई र यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा जल तथा मौसम बिभाग, पुर्वानुमान शाखाले अनुरोध गरेको छ ।