अर्घाखाँची: शितगंगाको दुर्गम वस्ती पावर र बिक्रमसोता दुई गाउँलाई पुलले जोड्यो, स्थानीयहरु खुसी (तस्बिर सहित)

 

-बसन्तराज पाैडेल ।

शितगंगा – अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ स्थित दुर्गमा दुई गाउँ जोड्ने पक्की पुल पाँच वर्षमा निर्माण सम्पन्न भएपछि आउजाउमा सहज भएको छ । दुई गाउँको बीचमा रहेको बाणगंगा खोलामा पुल नहुँदा वर्षामा स्थानीय र मावि स्कुल पढ्ने विद्यार्थीलाई आउजाउ ठप्प थियो ।

दुर्गम वस्तीमा पावर र बिक्रमसोता दुई गाउँलाई पुलले जोडेको छ । पुल बनेपछि दुवै गाउँका स्थानीय र मावि तह पढ्ने विद्यार्थी सबैभन्दा खुसी भएका छन् । हिउँदमा फराकिलो ठाउँबाट खोला तर्नुपथ्र्याे भने वर्षामा बाढीका कारण आउजाउ ठप्प थियो ।

‘बिक्रसोताका विद्यार्थीलाई मावि पढ्न बाणगंगा नदी तरेर पावर गाउँमा रहेका पावर माध्यमिक विद्यालयमा पढ्न जानुपर्ने बाध्यता थियो,’ वडाध्यक्ष दामोदर न्यौपानेले भने, ‘वर्षाभर विद्यार्थीले खोला तर्न नसकेर पढाई नै छुटाउनुपथ्र्याे । मोटरेवल पुल बनेर चार दिनदेखि गाडी र मान्छे आउजाउ भैरहेको छ ।’

खोला तर्न नसकेरै वर्षामा तीन÷चार महिना स्कुल गएर पढ्नबाट वञ्चित हुने बाध्यताको अन्त्य भएको उनले बताए । अब सहज रुपमै बिक्रमसोताका विद्यार्थीले नियमित स्कुल गएर पढने उनले बताए । हिउँदरभर खोला तरेर स्कुल गएपनि वर्षामा जान सक्दैनथे ।

पावर गाउँका स्थानीय पनि वर्षामा बिक्रसोता हुँदै पूर्वपश्चिम राजमार्ग कपिलवस्तुको पिपरा, बैरिया हुँदै बुटवल आउजाउ गर्न पनि समस्या नै थियो । वर्षाको लागि हिउँदमै नुन तेल, चामल लगायतका आवश्यक वस्तुहरु जुटाइसक्नुपर्ने बाध्यता रहेको स्थानीय चुमा गाहाले बताइन् । वर्षाको बेला विरामीलाई उपचारको लागि कपिलवस्तु र बुटवलका अस्पताल लैजान समेत नदी तर्न नसक्दा निकै कठिनाई हुने गरेको उनले बताइन् । ‘पुलले बाह्रै महिना दुई गाउँलाई जोड्यो,’ उनले भनिन, ‘सबै कुरामा सहज भयो ।’

दुर्गम बस्तीमा चुनावमा भोट माग्न आउने नेतासँग स्थानीयले बारम्बार पुल बनाइदिन आग्रह गर्दै आएका थिए । पञ्चायत देखि पुरानो जिल्ला विकास समिति, नयाँ संरचनाको शितगंगा नगरपालिका लगायतका निकाय, नेता सांसदसँग स्थानीय पुल बनाइदिन माग गर्दै आएका थिए । संघीय सरकारको ९ करोड ९० लाख रुपैयाँको लगानीमा ७० मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएको छ ।

२०७७ फागुनमा निर्माण कार्य शुरु भएको पुल शुक्रवार सबै काम सम्पन्न भएपछि गाडी र मान्छे आवतजावत गरेको शिवपुर सडक डिभिजन कपिलवस्तुका इन्जिनियर प्रदीप आचार्यले बताए । करिब ५ वर्षको अवधिमा पुल बनेको हो । पुलमा अब रंगरोगन बाहेक अरु सबै काम सकिएको उनले बताए । पुलन निर्माणले स्थानीयमा खुसीयाली छाएको छ । – BM  MEDIA