फाइल तस्बिर :
-गोपाल प्रसाद भट्टराई।
पौष–१३,अर्घाखाँची। नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले संघियता नेपालको दिगो विकासको बाधक बनेको दाबी गर्नुभएको छ । रिण खोज्दै संघियता धान्दै गर्नुपर्दा समृद्धि र विकास नारामै सिमित भएको उहाँको तर्क छ ।
राष्ट्रिय जनमोर्चाले आसन्न चैतमा गर्ने संघियता बिरुद्ध काठमाडौं केन्द्रित ७ दिने आन्दोलनको तयारी स्वरुप अर्घाखाँचीमा शनिबार सम्पन्न अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले यस्तो बताउनु भएको हो । विकेन्द्रिकरणमा आधारित एकात्मक शासन व्यवस्था नै उत्तम रहेको भन्दै महामन्त्री सिंहले संघियता खारेजीको विकल्प नभएको जिकिर गर्नुभएको छ ।
संघियता नहटाए देश अझै खाडलमा फस्ने उहाँको धारणा रहेको छ । जुनसुकै सरकार आएपनि विदेशिने दक्ष युवा÷विद्यार्थिलाई रोक्न नसक्नुले देश रित्तो हुने भन्दै उहाँले चिन्ता समेत व्यक्त गर्नुभएको छ ।
संघियताको खर्च कटौती गरि शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार गर्ने र रोजगारीको सिर्जना गर्नुपर्ने महामन्त्री सिंहले खाँचो औल्याउनुभएको छ । चिनमाथि हमला गर्न नेपाललाई युद्ध भूमि बनाउने भारत र अमेरिकाको सपना पुरा भए मुलुक युद्धको भूमरिमा पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले अहिलेको सरकार अमेरिका, भारत र चिनलाई खुशी पार्न बनेको आरोप लगाउनुभएको छ । जनताको समस्याको निकास दिन र देशलाई विकास दिन अहिलेको सरकार नबनेको आरोप लगाउँदै महासचिव भट्टले भारतले नेपाली भूमिमा डोजर चलाउँदा चुइक्क बोल्न नसक्नु त्यसैको उदाहरण भएको दाबी समेत गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी.को अध्यक्षता, ने.क.पा.(मसाल)का जिल्ला प्रवक्ता पशुपति ढकालको स्वागत मन्तव्य र राजमो जिल्ला अध्यक्ष थम्मन के.सी.को संचालनमा सम्पन्न कार्यक्रममा मसालका महामन्त्री सिंह र राजमो महासचिव भट्टले प्रशिक्षण दिनुभएको थियो ।
जिल्लाका ६ वटै पालिकाबाट राजमोका अगुवा कार्यकर्ताको सहभागितामा सम्पन्न कार्यक्रममा ४ वटा टोली बनाएर समुह छलफल समेत गराइएको थियो । जसमा राजमो नेताहरु टेक बहादुर थापा, पशुपति ढकाल, बिर बहादुर कुंवर र जोग बहादुर सारुले टोलीका सुझाव प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा राजमो केन्द्रिय सदस्य तथा भूमिकास्थान नगरप्रमुख झविलाल थापा, केन्द्रिय सदस्य यमलाल पोख्रेल र अनेमसंघ केन्द्रिय महासचिव सकुन्तला राना लगायतले सहजीकरण गर्नुभएको थियो ।