अपडेटः १७७ को ज्यान लैजाने दक्षिण कोरियाली बिमान चरासँग ठोक्किएको अनुमान

 

सियोल, १४ पुस । दक्षिण कोरियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा कम्तीमा १७७ जनाको मृत्यु भएको छ । दुई जना बाँचेकालाई बिमानको भग्नावशेषबाट निकालेर अस्पताल लगिएको छ । उनीहरूको उपचार जारी रहेको कोरियाको आपत्तकालिन बिभागले जनाएको छ ।

जेजु एयरद्वारा सञ्चालित बोइङ ७३७–८०० उडानमा ६ बिमान कर्मचारीसहित १८१ जना सवार थिए र थाइल्याण्डको बैंककबाट मुआन विमानस्थलमा आइपुगेको थियो। त्यही बेला बिमान अनियन्त्रित भएर पर्खालमा ठोक्किन पुगेको थियो ।

उद्दार अधिकारीहरूका अनुसार भग्नावशेषमा शबहरू खोजी जारी राख्दा पीडितका परिवारहरू विमानस्थलमा भेला भएका छन् । अनलाइन फुटेजमा विमान रनवेबाट बाहिर निस्केको र भित्तामा ठोक्किएको देखिन्छ, त्यसपछि त्यसमा एक्कासी आगो लागेको थियो ।

बिमान कसरी दुर्घटना भयो भन्ने कुनै कारण पुष्टि भएको छैन, तर फायर सर्भिसले भने चराहरूसँगको टक्कर र खराब मौसमका कारण बिमान रन वेवाट चिप्लिएको हुन सक्ने आंकलन गरेका छन ।