दक्षिण अफ्रिका पहिलो पटक वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा

 

काठमाडाैं, पुस १४ : दक्षिण अफ्रिका पहिलो पटक वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल पुगेको छ। आइतबार सेन्युरियनमा सकिएको टेस्टमा पाकिस्तानलाई २ विकेटले हराउँदै दक्षिण अफ्रिकाले वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको हो।

अब उपाधिका लागि दक्षिण अफ्रिकाले भारत, अस्ट्रेलिया र श्रीलंका मध्ये १ सँग खेल्नेछ। फाइनल आगामी वर्ष लर्डसमा हुनेछ।

यसअघिका पहिलो संस्करणको उपाधि न्युजिल्यान्ड र दोस्रो संस्करणको उपाधि अस्ट्रेलियाले जितेको थियो। भारत दुवै पटक फाइनलमा पराजित भएको थियो।

अन्तिम दिन १४८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा भेट्टायो। उसका लागि नवौं विकेटका लागि कागिसो रबाडा र मार्कोे यान्सनले ५२ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए। रबाडाले ३१ र यान्सनले १६ रन बनाए।

९९–८को दयानीय असस्थाबाट रबाडा र यान्सनले दक्षिण अफ्रिकालाई जितत दिलाए। त्यसअघि कप्तान टेम्बा बावुमाले ४० र एइडन मारक्रमले ३७ रन बनाएका थिए। दक्षिण अफ्रिकालाई दबाबमा राख्ने क्रममा मोहम्मद अब्बासले ६ विकेट लिए।

त्यसअघि पहिलो इनिङमा पाकिस्तानले २११ रन बनाएको थियो। उसका कमरान गुलामले सर्वाधिक ५४ रन बनाएका थिए। बलिङमा दक्षिण अफ्रिकाका डान प्याट्रेर्सनले ५ तथा कोर्विन बोसले ४ विकेट लिए।

पहिलो इनिङमा दक्षिण अफ्रिकाले मारक्रमको ८९ र बोसको ८१ रनको मद्दतमा ३०१ रन बनाएको थियो। बलिङमा पाकिस्तानका खुर्राम सहजाद र नसिम साहले समान ३ विकेट लिँदा अमिर जमालले १ विकेट लिए। दोस्रो इनिङमा पािकस्तानले २३५ रन बनाएको थियो। उसका साउद सकिलले सर्वाधिक ८४ रन बनाउँदा बाबर अजामले ५० रन बनाएका थिए।

सिरिजको दोस्रो टेस्ट केप टाउनमा जनवरी ३बाट सुरु हुनेछ।