काठमाडौं । महामन्त्री गगन थापाले कानुन सबैलाई बराबर हुने भएकाले कांग्रेसको ठूलै नेता सहकारी ठगीमा देखिए पनि अनुसन्धानका लागि पाता कसेर लानुपर्ने बताएका छन् ।
महामन्त्री थापाले उपसभापति गुरूङको नाम नलिई भनेका छन्, ‘मैले सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि भनिरहेको छु, यहाँबाट सार्वजनिक रूपमा पनि भन्छु, यदि कांग्रेसको नेता, पदाधिकारी वा कोही माछे सहकारीको ठगीमा कहीँ कतै पनि अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानू ।’
जसले गल्ती गर्छ उसलाई प्रहरीले पाता कसेर लैजानु पर्ने थापाले बताए । ‘यो हो नि कानुनको शासन भनेको। पाता कसेर लगेका व्यक्तिको समर्थनमा झण्डा लिएर बाहिर नआउनुस्,’ उनले भने, ‘जसले गल्ती गरेको छ उसले सजाय पाउँछ ।
विधिको शासन यही हो ।’ कुन–कुन फाइल खोल्ने हो त्यो खोलिनु पर्ने उनले बताएका छन् । यसको अध्ययन गर्न शक्तिशाली आयोग बनाउन परे पनि बनाउनुपर्ने थापाले बताए । ‘भुटानी शरणार्थी, बाँसबारी, गिरीबन्धु टी–इस्टेट वा क्यान्टोनमेन्टलगायत के–के काण्डका फाइल खोल्नु पर्ने हो खोलौं र जो जोले गल्ती गरेका छन् एक जनालाई पनि छुट नदिऔं, यो आँट गरौं,’ थापाले भने । – एनपी