गोपाल प्रसाद भट्टराई।
पौष–१९,अर्घाखाँची- अर्घाखाँची दुग्ध उत्पादन तथा बिक्रि बितरण सहकारी संस्थाको अध्यक्षमा गणेश प्रसाद बन्जाडे निर्वाचित हुनुभएको छ । गत शनिबार सन्धिखर्कमा सम्पन्न नवौं साधारणसभाले अध्यक्ष बन्जाडेको नेतृत्वमा ९ सदस्यिय कार्यसमिति सर्वसहमतीले गठन गरेको हो ।
जसको उपाध्यक्षमा कुशल भुसाल, सचिव दिपक खनाल र कोषाध्यक्षमा बिष्णु आचार्य छनौंट हुनुभएको छ । दुग्ध सहकारीको कार्यसमितिको सदस्यमा प्रकाश पोख्रेल, मधु के.सी., सावित्रा भुसाल बन्जाडे, कमला भुसाल र सन्तोष भुसाल चयन हुनुभएको छ ।
नवौं साधारणसभाले सुदिप मरासिनी संयोजक रहेको ३ सदस्यिय लेखा समितिपनि गठन गरेको छ । लेखा समितिको सदस्यमा कमला पन्थी र कृष्ण प्रसाद पराजुली रहनुभएको छ ।
निवर्तमान अध्यक्ष चन्द्र प्रसाद बन्जाडेको अध्यक्षता, शान्ता पन्थीको स्वागत मन्तव्य र दिपक खनालको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रवक्ता मोतिजंग रायमाझी, सन्धिखर्क–८ का वडाध्यक्ष हुम प्रसाद बन्जाडे र भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र अर्घाखाँचीका सुन्दरलाल वि.क. लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उहाँहरुले सहकारीको माध्यमबाट उत्पादनमा वृद्धि नगरे सम्म देशको समृद्धि नहुने बताउनुभएको छ ।
पछिल्लो समय दुध व्यवसायमा देखिएको समस्यालाई हटाउनको निम्ती पाउडर दुधको निरुत्साहित गर्दै स्थानिय दुध तथा दुग्धजन्य पदार्थको अधिकतम उपयोग बढाउनुपर्नेमा उहाँहरुको जोड रहेको छ ।
२०७२ माघ ८ गते स्थापना भएको यो सहकारीले दुग्ध उत्पादन, प्याकेजिंग, धुग्ध विविधिकरण तथा बजारीकरणको काम गर्दै आइरहेको संस्थाका निर्वतमान अध्यक्ष चन्द्र प्रसाद बन्जाडेले जानकारी दिनुभएको छ । उहाँका अनुसार अर्घाखाँचीमा रहेका २ सय बढि सहकारी मध्ये अर्घाखाँची दुग्ध सहित ६ वटा सहकारीले दुधको कारोवार गर्दै आइरहेका छन् ।
५२ जना कृषक र सरोकारवाला सेयर सदस्यबाट संकलित १३ लाख शेयर रकमबाट सुरु भएको यो सहकारीमा अहिले १ सय ५० जना सेयर सदस्य रहेका छन् भने शेयर रकम ५० लाख ५९ हजार ५ सय पुगेको छ ।
अर्घाखाँची दुग्ध सहकारी संस्थाले अस्तव्यस्त दुध बितरण प्रणालीलाई रोक्दै समान तथा उचित दुधको मूल्य सहित दुधको संकलन, प्रशोधन, बजारिकरण र दुधको विविधिकरण समेत गर्न थालेपछि किसानहरु उत्साहित भएको पाइएको छ ।