भेनेजुएला, २० पुस । भेनेजुएलामा राष्ट्रपति निर्वाचन सकिएको भएता पनि केही महिनादेखि राजनीतिक संघर्ष जारी नै छ। यसै बिच, अहिले दक्षिण अमेरिकी देश भेनेजुएलाको सरकारले राष्ट्रपति पदका बिपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको अवस्थाबारे जानकारी दिनेलाई १ लाख अमेरिकन डलर पुरस्कार दिने घोषणा गरेको छ ।
जबकि गोन्जालेजले आगामी शुक्रबार (जनवरी १०) मा राष्ट्रपतिका रूपमा निकोलस मादुरोको सपथ ग्रहण गर्नु अघि नै स्वदेश फर्कने जनाएका थिए । यो घोषणा भेनेजुएलाको अर्को राष्ट्रपतिको कार्यकाल सुरु हुनुभन्दा केही दिन अघि गरिएको हो। उनी हाल स्पेनमा राजनीतिक शरण लिएर बसेका छन् ।
एडमन्डो गोन्जालेज राष्ट्रपति पदका उम्मेदवार थिए, जसले गत वर्षको मध्यमा भएको चुनावमा राष्ट्रपति निकोलस मादुरोलाई हराएको दाबी गरेका थिए।
सामाजिक सञ्जाल मार्फत पुरस्कारको घोषणा गरिएको छ । देशको अपराधिक फरेन्सिक अनुसन्धान एजेन्सीको प्रेस कार्यालयले आफ्नो इन्स्टाग्राम पोस्टमा भन्यो, ‘उनको ठेगानाको बारेमा जानकारी दिने जो कोहीलाई १ लाख अमेरिकन डलरको पुरस्कार प्रदान गरिनेछ।’ यसले गोन्जालेजको तस्बिर र उसलाई अधिकारीहरूलाई बुझाउन निर्देशनहरू सहितको वान्टेड बुलेटिन देखाइएको छ ।
सरकारको घोषणाको केही घण्टा पछि राष्ट्रपतिका उम्मेदवार गोन्जालेज निकटले भने कि अब उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण अर्जेन्टिनाबाट सुरु गर्नेछन्, जहाँ उनले शनिबार राष्ट्रपति जेभियर माइलीलाई भेट्ने तय भएको छ ।
खासमा गोन्जालेज गत सेप्टेम्बरमा स्पेन भागेका थिए । गोन्जालेजले गत वर्ष सेप्टेम्बरमा स्पेनको लागि भेनेजुएला छाडेका थिए जब एक न्यायाधीशले जुलाई २८ को राष्ट्रपति चुनावको अनुसन्धानको भागको रूपमा उनको गिरफ्तारीको लागि वारेन्ट जारी गरे पछि उनी भागेका हुन् । गोन्जालेजमाथि षड्यन्त्र र कागजपत्र किर्तेको आरोप लागेको छ ।
देशको नेशनल इलेक्टोरल काउन्सिल, जसमा सत्तारुढ दलका वफादारहरू पनि थिए, निकोलस मादुरोले चुनाव जितेको बताएको थियो। तर, यो राष्ट्रपति चुनाव विवादले घेरिन पुगेको थियो । अघिल्लो राष्ट्रपति चुनावको विपरीत, निर्वाचन अधिकारीहरूले मतदानसँग सम्बन्धित विस्तृत जानकारी जारी गरेनन भन्ने उनको तर्क रहेको छ । र त गोन्जालेजले जितको दाबी गरेका छन् ।
यद्यपि, विपक्षीहरूले देशका ८० प्रतिशत इलेक्ट्रोनिक भोटिङ मेसिनबाट ट्याली सिट सङ्कलन गरी अनलाइन पोस्ट गरेका छन् । विपक्षी समूहका उम्मेदवार गोन्जालेजले मादुरोभन्दा दोब्बर मतान्तरले चुनाव जितेको मतदानको रेकर्डले देखाएको पनि उनीहरूको दाबी रहेको छ ।
त्यसैले निर्वाचनमा पारदर्शिता नभएको भन्दै विश्वव्यापी निन्दा भएको छ । त्यसपछि मदुरोले भेनेजुएलाको उच्च अदालतलाई चुनावी नतिजाको लेखा परीक्षण गर्न भने, जसमा सत्तारुढ दलका वफादारहरू पनि समावेश थिए। पछि अदालतले उनको जित सुनिश्चित गरिदिएको थियो ।
अब निकोलस मदुरोले अर्को साता राष्ट्रपति पदको सपथ लिनेछन् । मादुरोलाई जनवरी १० मा हुने सपथ ग्रहण समारोहका लागि राष्ट्रिय सभाबाट निमन्त्रणा प्राप्त भइसकेको छ।
यसैबीच, गोन्जालेजले घोषणा गरेका छन् कि अब उनी सपथ ग्रहण अघि नै स्वदेश फर्कने योजनामा छ तर पछिल्लो वान्टेड जारी भए पछि अब उनले त्यसो गर्नेछन कि छैनन ? त्यो भने अझै खुलेको छैन ।