-गोपाल प्रसाद भट्टराई
पौष–२०, अर्घाखाँची। नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष बुद्धि बहादुर वि.क.(दियाली)ले सुन चाँदी व्यवसायीहरुलाई सरकारले आवश्यक सहयोग गर्न नसकेको आरोप लगाउनुभएको छ ।
सुनचाँदी व्यवसाय प्रर्बद्धनका निम्ती आफुहरुले समयअनुकुल छुट्टै कानूनको माग गर्दा सरकारले त्यस्तो कानुनी व्यवस्था गर्न नसकेको उहाँको तर्क छ ।
अर्घाखाँची सुनचाँदी व्यवसायी संघको १२ औं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय उपाध्यक्ष दियालीले यस्तो बताउनुभएको हो । अन्य व्यवसायको तुलनामा सुनचाँदी व्यवसाय फरक भएको भन्दै उहाँले यसका लागि सरकारले छुट्टै कानूनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मुलुकको कर संकलनमा ठुलो योगदान दिएको सुनचाँदी व्यवसायको विकासका निम्ती नयाँ कानुन बनाएर सहयोग गर्न तिनवटै तहका सरकारलाई केन्द्रीय उपाध्यक्ष दियालीले आग्रह समेत गर्नुभएको छ ।
सरकारले उचित सहयोग नगरेपनि नेपाल सुनचाँदी व्यवसायी महासंघले व्यवसाय सम्बन्धि आचारसंहिता बनाएर लागू गरेको उहाँको प्रष्टोक्ती छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले व्यावसायिक सुरक्षाका लागि आफू सधैं तयार रहेको बताए ।
प्र.जि.अ. अर्यालले व्यवसायीको सुरक्षा गर्नु राज्यको दायित्व भएको भन्दै जिल्लाको सुरक्षामा कुनै कमि नहुने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी सुनचाँदी व्यवसायी संघका अध्यक्ष ध्रुव बहादुर गहतराज, केन्द्रीय सदस्य लोक बहादुर सुनार, केन्द्रीय सदस्य मदन के.सी, सुनचाँदी व्यवसायी संघ लुम्बिनीका सचिव झविन्द्र वि.क., उद्योग वाणिज्य संघका उपाध्यक्ष साजन ओली, चेम्बर अफ कमर्सका अध्यक्ष अशोक कुमार श्रेष्ठ, अर्घाखाँची व्यापार संघका अध्यक्ष योगेन्द्र खड्का, पत्रकार महासंघ अर्घाखाँचीका सदस्य सागर परियार लगायतले मन्तव्य राख्नु भएको थियो ।
अर्घाखाँची सुनचाँदी व्यवसायी संघका अध्यक्ष कृष्ण बहादुर विश्वकर्माको अध्यक्षता र जिल्ला सचिव तारा बहादुर सुनारको संचालनमा सम्पन्न कार्यक्रममा बोल्दै उहाँहरुले मुलुकको आर्थिक समृद्धिको खम्बाको रुपमा रहेको निजि क्षेत्रको लगानी प्रबद्र्धन हुने वाताबरण सरकारले बनाइदिनुपर्नेमा जोड दिनुभएको छ ।
२०६९ सालमा स्थापना भएको अर्घाखाँची सुनचाँदी व्यवसायी संघले दोस्रो अधिवेशन मार्फत नयाँ नेतृत्व समेत चयन गर्ने सहकर्मी नवीन रसाइली बताउनुभएको छ ।