-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।
पौष–२०,अर्घाखाँची – त्रिवेणी बचत तथा रिण सहकारी संस्था अर्घाखाँचीले दुर्घटनामा परी ज्यान गुमाएका सेयर सदस्यको परिवारलाई दुर्घटना बिमा अन्तर्गतको २ लाख रकम भुक्तानी गरेको छ ।
२०८१ असार २३ गते त्रिवेणीको सेयर सदस्य बन्नुभएका सन्धिखर्क–१०,अर्घा निवासी बल बहादुर खत्रीको २०८१ असौज १२ गते दुर्घटनामा परि निधन भएको हो ।
२०८१ साउन २२ गते नेको इन्सोरेन्स कम्पनी सन्धिखर्क शाखामा त्रिवेणीले सेयर सदस्यको दुर्घटना बिमा कार्यक्रम अन्तरगत बल बहादुर खत्रीको २ लाख बराबरको दुर्घटना बिमा गरिदिएको थियो ।
खत्रीको सडक दुर्घटनामा मृत्यु पश्चात उहाँकी श्रीमती रमनी पाण्डे खत्रीले गर्नुभएको दाबी अनुसार शनिबार उक्त बिमा रकम रमनी पाण्डेलाई हस्तान्तरण गरिएको त्रिवेणीका कार्यालय प्रमुख तुल्सीराम खनालले जानकारी दिनुभएको छ ।
सहकारीमा सदस्य बनेर शेयर रकम १ हजार सहित ४ हजार २ सय ४७ रुपैंया मात्र जम्मा गर्नुभएको बल बहादुरको त्रिवेणीमा जोडिएको ४ महिनामै मृत्यु भएको हो ।
उहाँको निधनपश्चात त्रिवेणीले नेको इन्सोरेन्ससंग गरेको शेयरसदस्य दुर्घटनाबिमा मार्फत प्राप्त २ लाख रुपैंया निजको श्रीमती रमनीलाई हस्तान्तरण गरिएको त्रिवेणीका कार्यालय प्रमुख खनालको प्रष्टोक्ति छ ।
त्रिवेणीका विभिन्न उपसमितिका पदाधिकारीलाई प्रमाणपत्र बितरण गर्न र अभिमुखिकरण गर्न आयोजित कार्यक्रमको अवसर पारेर दुर्घटना बिमा दाबी भुक्तानी गरिएको त्रिवेणीका अध्यक्ष कमल प्रसाद घिमिरेले बताउनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका नगरप्रवक्ता मोतिजंग रायमाझी, नेको इन्सोरेन्स अर्घाखाँची शाखाका शाखा प्रमुख शुरेन बस्याल, त्रिवेणीका पदाधिकारी र अन्य सरकोरवालाको बिशेष उपस्थितिमा मृत्यु दाबी २ लाखको चेक मृतक खत्रीको श्रीमती रमनी पाण्डेलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रवक्ता रायमाझीले त्रिवेणीको गतिविधिले आर्थिक विकास र समाजको समृद्धिमा महत्वपूर्ण काम गरेको बताउनुभएको छ । उत्पादन र रोजगार केन्द्रित लगानी प्रवाह गर्न सहकारी संस्थाहरुलाई उहाँको आग्रह समेत रहेको छ ।
त्रिवेणीले बचत तथा रिण प्रवाहसंगै सबै सेयर सदस्यको २ लाख बराबरको दुर्घटना बिमा समेत गरिदिने गरेको सहकारीका सचिव नारायण प्रसाद भुसालले जानकारी दिनुभएको छ ।