चिसोले जनजीवन प्रभावित

 

पर्सा- लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन् ।

तराईका विभिन्न जिल्लामा शीतलहरूको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ । चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरू बढी प्रभावित भएका छन् ।


मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कँडेलले मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा दुवै जिल्लाको तापक्रम घटिरहेको जानकारी दिए । कार्यालयका अनुसार वीरगञ्जको शनिबारको अधिकतम तापक्रम १५ डिग्री सेल्सियस र शनिबारको न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको थियो ।

आइतबार बिहानको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । बारामा आइतबार बिहान ८ स् ५६ बजे तापक्रम मापन गर्दा नौ डिग्री सेल्सियस मापन गरिएको छ । वीरगञ्ज महानगरले वीरगञ्ज आसपासमा जाडो बढेसँगै नारायणी अस्पताल, नयाँ बसपार्क चोक, घण्टाघर चोक माईस्थान चोक, मुरली चोक लगायतका स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले  चिसोबाट जनतालाई जोगाउन विभिन्न स्थानमा दाउरा वितरण गरिरहेको जानकारी दिए । प्रजिअ अर्यालले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सिरक तथा न्यानो लत्ताकपडा वितरण भइरहेको जानकारी दिए ।

शीतलहरले जनजीवन प्रभावित भएपछि जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।