गोपाल प्रसाद भट्टराई
माघ–२,अर्घाखाँची
राष्ट्रिय जनमोर्चाले भूमिकास्थान–१०, धनचौरमा यहि माघ १७ गते सभा गर्ने भएको छ ।
आसन्न चैतमा पार्टी केन्द्रले संचालन गर्ने संघियता बिरुद्ध काठमाडौं मार्चको तयारी स्वरुप राजमो अर्घाखाँचीले पनि वडा वडामा अभियान लैजाने निर्णय गरेको छ । जिल्लाको योजना अनुसार धनचौरमा बुधबार सम्पन्न वडा समितिको बैठकले माघ १७ गते सभा गर्ने निर्णय गरेको हो ।
चैत्र २४ गतेदेखि ३० गतेसम्म काठमाडौंमा हुने संघियता बिरुद्धको बृहत आन्दोलनलाई सफल पार्न माघ १७ गते सभा गर्ने र फागुन महिनाभरि जनभेटघाट र प्रचार–प्रसारको अभियान चलाउने निर्णय भएको राजमो धनचौरले जनाएको छ ।
राष्ट्रिय जनमोर्चाका धनचौरका अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षता, उपाध्यक्ष जित बहादुर गुरुङको स्वागत मन्तव्य र सचिव भिमलाल भुसालको संचालनमा सम्पन्न बैठकमा राष्ट्रिय जनमोर्चाका नेता बाबुराम पन्थी र अन्टुक भूमिकास्थानका अध्यक्ष तिलकराम भट्टराईले सम्बोधन गर्नुभएको थियो ।
बैठकमा बोल्दै उहाँहरुले देशको रक्षाका लागि संघियताको खारेजी अपरिहार्य भएको दाबी गर्नुभएको छ । भ्रष्टाचारलाई संरक्षण गरेर सरकारवादी दलहरुले गणतन्त्रकै बदनाम गराएको उहाँहरुको आरोप छ ।