गोपाल प्रसाद भट्टराई
माघ–०९,अर्घाखाँची
अर्घाखाँची – भारतबाट नेपालतर्फ भन्सार छलि अवैध रुपमा ल्याएको ९७ हजार ४ सय ९५ रुपैयाँ मूल्य बराबरको मोटर पार्टसपुर्जा सहित एक भारतिय नागरिकलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ । विभिन्न कम्पनीका मोटरसाईकलमा लाग्ने ३९ प्रकारका पार्टसपुर्जा बोकेर हिडिरहेको अवस्थामा सन्धिखर्क चुत्राबेसीबाट भारतिय नागरिक मोहम्मद इरफानलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो ।
माघ ८ गते सांझ ६ बजेतिर सन्धिखर्क–२,चुत्रावेसी हायस काउण्टर नजिकै अवैध मोटरपार्टस बोकि हिडिरहेको भनि प्रहरीलाई प्राप्त सुचनाको आधारमा प्रहरी उक्त स्थलमा गई चेकजांच गर्दा २ वटा झोलामा अवैध मोटरपार्टस राखेको पाइएपछि मोहम्मद इरफानलाई पक्राउ गरिएको अर्घाखाँची प्रहरीले जनाएको छ ।
उनलाई बरामद सामान सहित आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी तथा प्रहरी निरिक्षक बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।