-जीवन नेपाली ।
दाङ । दाङको बंगलाचुली गाउँपालिकाले सहिद, घाइते, बेपता र जेल तथा द्वन्द्व पीडितका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ ।
गाउँपालिकाले सहिद दिवसको अवसर पारेर आज पहिलो चरणमा ५ जनाको स्वास्थ्य बिमा गरिदिएको छ । पालिका भरका ८६ घर परिवारको प्रतिपरिवार ५ जनका दरले ४ सय ३० जनाको स्वास्थ्य बिमा गरिने गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिनुभयो । गाउँपालिकाले चैतसम्म उनीहरू सबैको स्वास्थ्य बिमा गरिने उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले द्वन्द्व पीडितहरूको स्वास्थ्य बिमकका लागि ३ लाख एक हजार रुपैयाँ बजेटको व्यवस्था समेत गरेको छ ।
यसैबिच बंगलाचुली गाउँपालिकाले सहिद दिवसको अवसर परेर ८६ जना द्वन्द्व पीडितहरूलाई सम्मान तथा नगद सहयोग हस्तान्तरण गरेको छ ।
गाउँपालिकाले २२ जना सहिद परिवार, ६ जना बेपत्ता परिवार, २२ जना जेल तथा द्वन्द्व पीडित र ३६ जना घाइते परिवारलाई जनही २ हजार ५ सयका दरले नगद सहयोग हस्तान्तरण गरेको छ । गाउँपालिकाले तत्कालीन १० बर्षे जनयुद्धका क्रममा शहादत प्राप्त गरेका सहिद, उति वेलाका घाइते, बेपता भएका व्यक्ति तथा द्वन्द्व पीडित परिवारलाई नगद तथा दोसल्ला ओढाएर समेत सम्मान गरेको हो । – RN