-भिम विश्वकर्मा ,पाणिनी।
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
पाणिनी गाउँपालिकाको बरका रूख खेल मैदानमा बुधवार सम्पन्न भएको प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेको थियो । सातौँ संस्करणको अन्तर विद्यालय प्रतियोगितामा हरिहर संस्कृत तथा साधारण माध्यमिक विद्यालयले ४ स्वर्ण , ६ रजत र ३ काश्य जित्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो।
यस्तै धातिवांङ माध्यमिक विद्यालयले ४ स्वर्ण, २ रजत र २ काश्य सहित दोस्रो स्थान हासिल गरेको छ । भने नेपाल राष्ट्रिय माध्यामिक विद्यालय पणेनाले ४ स्वर्ण, १ रजत र ६ काश्य सहित तेस्रो स्थान हासिल गरेको खेल शिक्षक गोविन्द पौडेलले जानकारी दिए ।
उपाधि जितेसँगै प्रथमले २० हजार, द्वितीयले १२ हजार र तृतीयले ८ हजार नगद पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तेजबहादुर खनालले जानकारी दिए ।
भलिबल छात्रा तर्फ सिद्ध मावि पाणिनी २ ले उपाधि हासिल गरेको छ । छात्र तर्फ द्यौराली माविले पटाैटिले उपाधि हासिल गरेको छ ।
कार्यक्रमको समापन गर्दै पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले विजेता, सहभागी तथा प्रतियोगिता सफल बनाउन योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरे। उनले पालिका खेलकुदको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै खेलाडीहरूलाई अनुशासन र लगनशीलताका साथ खेल क्षेत्रबाट पालिकाको पहिचान बनाउन आग्रह गरे।
विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल लगायतका १२ विधाका २४ स्वर्णका लागि प्रतिस्पर्धा भएकाे थियो । प्रतियोगितामा पालिकाभित्रका १६ विद्यालयका करिब ३ सय ५० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।