अर्घाखाँची : नाङ्गेठाटीमा राष्ट्रिय जनमोर्चाको कोणसभा सम्पन्न। (तस्बिर सहित)

 

-बसन्त बहादुर खड्का , अर्घाखाँची डट्कम।

अर्घाखाँची-  सन्धिखर्क नगरपालिका-४, नाङ्गेठाटीमा राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिको आयोजनामा कोणसभा सम्पन्न भएको छ।

“धर्मनिरपेक्षता, राष्ट्रियता र गणतन्त्रको रक्षा गरौं, संघीयता र एमसीसी खारेज गरौं !  चैत्र २४ गतेदेखि ३० गतेसम्म काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी बनौं!” भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले माघ ५ गतेदेखि जिल्लाका विभिन्न पालिका, गाउँ, टोलहरूमा जनसभा तथा कोणसभा गर्दै आएको छ।

यसै अभियानअन्तर्गत राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिले सन्धिखर्क नगरपालिका-४, वाङ्लामा पनि कोणसभा सम्पन्न गरेको छ।

सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष थम्मन केसीले संघीयता नेपाली जनताको हितमा नभई विदेशी एजेन्डा अन्तर्गत लागू गरिएको बताउँदै, यसले सत्तामा पुग्नेहरूलाई मात्र फाइदा पुर्याउने तर नेपाली जनतालाई आपसमा  एकआपसमा लडाएर देशलाई हरि कंगाल बनाउने  षड्यन्त्र रहेको जिकिर गरे।

उनले राष्ट्रिय जनमोर्चाले अन्तरिम संविधानमै संघीयताको विरोध गरेको स्मरण गराउँदै, यही चैत्र २४ देखि ३० गतेसम्म काठमाडौं केन्द्रित आन्दोलन मार्फत संघीयता खारेज गरी देशलाई अग्रगामी दिशामा अघि बढाउने संकल्प गरिएको बताए। साथै, उनले यो न्यायप्रेमी जनताको एजेन्डा भएकोले सम्पूर्ण आम जनतालाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्न अपिल गरे।

कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकालले पनि संघीयता र एमसीसी नेपालका लागि घातक रहेको जिकिर गरे।

अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष गोबिन्द बिसीको समेत विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा सन्धिखर्क -४ वार्ड समितिका अध्यक्ष गंगाराम खनालले सभापतित्व गरेका थिए। कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिका सहसचिव बसन्त खड्काले गरेका थिए।