-केशब पन्थी ।
सन्धिखर्क- अर्घाखाँची आवासीय माध्यमिक विद्यालय र सन्धिखर्क इङ्गलिस बोर्डिङ्ग स्कूलले सरस्वती पूजा, अक्षरारम्भ, विद्यार्थी भर्ना तथा विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका छन्।
यी विद्यालयहरुले आ-आफ्नो प्राङ्गणमा सरस्वती पूजा, अक्षरारम्भ र विद्यार्थी भर्ना कार्यक्रम सम्पन्न गरी अर्घाखाँची आवासीय माध्यमिक विद्यालयमा संयुक्त रुपमा विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेका हुन्।
विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रमको शुभारम्भ जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवानारायण कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने समापन समारोहमा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।
स्वास्थ्य परीक्षण कार्यक्रममा बालबालिकाहरुको आँखा परीक्षण गर्नुका साथै विषेशज्ञ चिकित्सकबाट बालरोग र सामान्य चिकित्सा तर्फको स्वास्थ्य परीक्षण सेवा प्रदान गरी निःशुल्क औषधि वितरण समेत गरिएको थियो। साथै आँखा जाँचबाट चस्मा आवश्यक पर्ने विद्यार्थीलाई आँखा उपचार केन्द्र अर्घाखाँचीको समन्वयमा चस्मा वितरण गर्ने प्रवन्ध गरिएको थियो।
कार्यक्रममा करिव ६०० जना विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएकोथियो। उद्घाटन समारोहमा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवानारायण कोइरालाले सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रमसँगै विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरि अत्यन्तै नौलो र जिम्मेवारपूर्ण अभ्यास गरेकोमा विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा नेत्रज्योति संघ अर्घाखाँचीद्वारा संचालीत जिल्ला आँखा उपचार केन्द्रका प्रमुख सागर घिमिरेको नेतृत्वमा ५ जना स्वास्थ्यकर्मीको समूहले आँखा जाँच गरेको थियो भने छायाँ अस्पताल प्रा. लि. का MGDP डक्टर सागर भण्डारीको नेतृत्वमा बाल स्वास्थ्य परीक्षण गरिएको थियो। उक्त कार्यक्रमकोलागि नेशनल हेल्थ केयर प्रा. लि. कमलपोखरी, काठमाण्डौले निःशुल्क औषधि उपलब्ध गराएको थियोे।
बिहान ११:०० बजे देखि अपराह्न ४:३० बजे सम्म स्वास्थ्य परीक्षण गरी अपराह्न ४:३० मा कार्यक्रमको समापन गरिएको थियो। समापन समारोहमा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले जिल्लाकै शैक्षिक उत्कृष्टताको केन्द्र अर्घाखाँची आवासीय विद्यालयले वालवालिकालाई गुणस्तरिय शिक्षा उपलब्ध गराउनुका साथै उनीहरूको शारीरिक स्वास्थ्यको समेत जाँच र उपचारको प्रवन्ध गरी सबैलाई उदाहरण स्थापित गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो।
नगर प्रमुख श्रेष्ठले यस्तै स्वास्थ्य परीक्षण वर्षमा २ पटक गर्दा उपयुक्त हुने सुझाव दिनुभयो। उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष मोतीजङ्ग रायमाझीले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
अर्घाखाँची आवासीय माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष लिल बहादुर राउत क्षेत्रीको अध्यक्षता र शिक्षक ध्रुव आचार्यको सञ्चालन रहेको कार्यक्रममा अर्घाखाँची शैक्षिक गुठीका संचालक समितिका अध्यक्ष राम बहादुर रायमाझी, विद्यालयका प्रवन्ध निर्देशक श्रीकृष्ण भुसाल, अर्घाखाँची आवासीय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका अध्यक्ष हेमन्त बेल्बासे तथा सदस्यहरू र अर्घाखाँची गुठीका संचालक तथा गुठीयारहरुको बाक्लो उपस्थिति तथा दुवै विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा अर्घाखाँची आवासीय माध्यमिक विद्यालयको बेलबाटिका स्काउट ट्रुपमा आवद्ध विद्यार्थीहरुले उत्कृष्टता पूर्वक स्वयंसेवकको भूमिका निभाएका थिए।