-बसन्त बहादुर खड्का, अर्घाखाँची डट्कम।
नरपानी,अर्घाखाँची – राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिको आयोजनामा नरपानीमा कोणसभा सम्पन्न भएको छ। सभामा पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
सभामा बोल्दै राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार शेरबहादुर विषीले संघीयता र एमसिसी खारेज गर्न चैत्र २४ गतेदेखि ३० गतेसम्म काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आह्वान गरे। अखिल नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष कल्पना पोखरेलले संघीयता राष्ट्रघाती भएकाले यसको खारेजीको मुद्दामा जनताले साथ दिनुपर्ने बताइन्।
अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष गोबिन्द विषीले राष्ट्रिय जनमोर्चाले उठाएको मुद्दा सधैं देश र जनताको हितमा रहेको बताउँदै अन्य दलहरूको तुलनामा सांगठनिक रूपमा सानो देखिए पनि विचारधारात्मक रूपमा राष्ट्रिय जनमोर्चा ठूलो पार्टी रहेको उल्लेख गरे। उनले प्रदेश खारेज गरी स्थानीय तहलाई सशक्त बनाउनु पर्नेमा जोड दिए।
राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिका सहसचिव वसन्त खड्काले अन्य दलहरूले गर्ने राजनीति र राष्ट्रिय जनमोर्चाले गर्ने राजनीतिमा गुणात्मक फरक रहेको उल्लेख गर्दै राष्ट्रिय जनमोर्चा सधैं देश र जनताको पक्षमा उभिएको बताए।
उनले विगतमा नरपानीमा चुनढुंगा उत्खनन रोक्न पार्टीले निर्णायक संघर्ष गरेको स्मरण गराउँदै भने, “यदि त्यसबेला राष्ट्रिय जनमोर्चाले लडाइँ नगरेको भए, यो ठाउँ पर्यटकीय गन्तव्य होइन, ध्वस्त भूमिमा परिणत भइसक्थ्यो।” उनले सन्धिखर्क–७ खाचिकोटमा १० वर्षदेखि भइरहेको चुनढुंगा उत्खनन स्थायी रूपमा बन्द गरी उक्त क्षेत्रलाई पर्यटकीय तथा धार्मिक स्थलका रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमको अध्यक्षता पूर्णबहादुर चुदालीले गरेका थिए भने स्वागत मन्तव्य दिपक चुदालीले राखेका थिए। कार्यक्रम सञ्चालन पदम केसीले गरेका थिए।
थप तस्बिर: