गिरीबन्धु टी-इस्टेट प्रकरणमा ओलीविरुद्ध अवहेलना मुद्दा दायर

 

काठमाडौं । गिरीबन्धु टी-इस्टेट प्रकरणमा सर्वोच्च अदालतको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको भन्दै  सोमबार अवहेलनासम्बन्धी रिट दायर गरेका हुन् ।

अर्यालले दायर गरेको रिटमा सर्वोच्च अदालत, संवैधानिक इजलासबाट अघिल्लो वर्ष माघ २४ मा जारी भएको परमादेशको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले निरन्तर अवरोध सिर्जना गरेको उल्लेख छ ।

रिटमा प्रधानमन्त्री ओली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई विपक्षी बनाइएको छ । सर्वोच्च अदालतका प्रवक्ता सह-रजिष्ट्रार अच्युत कुइँकेलका अनुसार उक्त रिटमा  फागुन ४ गतेका लागि पेसी तोकिएको छ । अधिवक्ता अर्याल काठमाडाैं महानगरपालिकाका मेयर  बालेन शाहका कानूनी सल्लाहकारसमेत हुन् ।