काठमाडौ । प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रश्ताव राख्ने मनशाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण मानिन्छ । विशेष गरी यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो ।
समग्रमा भन्दा प्रणय एउटा बाँच्ने आधारशिला नै हो । प्रेम दुई विपरित लिङ्गीबीच मात्रै होइन, प्रेम त परिवारसँग हुन्छ, साथीहरुसँग हुन्छ, आफना प्रियजनहरुसँग पनि हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ । प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई वर्षौ आँट गर्न नसकेका प्रेम प्रश्ताव राख्ने गर्छन् । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण हुने गर्छ ।
प्रेम गर्ने युगल जोडीहरुको लागि निकै विशेष भ्यालेन्टाइन विक फेब्रुअरी ७ तारिखबाट सुरु भएर १४ तारिखसम्म मनाईन्छ । फेब्रुअरी ७ तारिख बाट ‘रोज डे’सँगै सुरु भएको भ्यालेन्टाइन विकमा ८ तारिखमा ‘प्रपोज डे’, फेब्रुअरी ९ मा ‘चोकलेट डे’, फेब्रुअरी १० मा ‘टेड्डी डे’, ११ तारिखमा ‘प्रोमिश डे’, फेब्रुअरी १२मा ‘हग डे’,फेब्रुअरी १३ मा ‘किस डे’ र अन्तिम फेब्रुअरी १४ मा’ भ्यालेन्टाइन डे’ मनाइन्छ ।
कसरी मनाइन थालियो ‘भ्यालेन्टाइन डे’?
‘भ्यालेन्टाइन डे’ इटालीको रोमवाट शुरु भएको मानिन्छ । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको भ्यालेन्टाइन डेको इतिहास सम्झँदा रोमका एक सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । सम्राटको आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङ्घन गरेका थिए ।
एक जना सर्वसाधारणले आफ्नो आदेशको उल्लङ्घन गरेको कुरा सम्राट्लाई सह्य भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिएको दिन १४ फेब्रुअरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो ।
‘भ्यालेन्टाइन डे’ लाई सुक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने यो प्रेमको दिवस भन्दा बढी प्रेमको लागि गरिएको बिद्रोह हो ।