काठमाडौं । गायिका मिना बेल्बासे को नयाँ गीत ‘तिम्रो बोली अघाइन सुनेर’ सार्वजनिक भएको छ। नवीन घिमिरे को शब्द तथा रचनामा तयार पारिएको यो गीत प्रेम दिवसलाई लक्षित गर्दै बजारमा ल्याइएको हो।
गीतमा युवक र युवतीबीचको गहिरो प्रेम सम्बन्धलाई मनछुने शैलीमा चित्रण गरिएको छ। सार्वजनिक भएपछि गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
गायिका मिना बेल्बासेका अनुसार यो गीतले प्रेमी–प्रेमिकाबीचको भावनात्मक सम्बन्धलाई जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।
गायक लक्ष्मण चापागाईंको सफलता यात्रा
नेपाली सांगीतिक क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि सक्रिय गायक लक्ष्मण चापागाईंले कला तथा संगीत अध्ययन गरेर औपचारिक रूपमा गायन यात्राको थालनी गरेका थिए। उनका धेरैजसो गीतहरू लोकप्रिय भएका छन्।
हालै मात्र ‘राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड’ जितेका गायक चापागाईंको पछिल्लो चर्चित गीत ‘बग्दै होला दरम खोलानी’ हो।
गायिका मिना बेल्बासे पनि अवार्ड विजेता
गायिका मिना बेल्बासेले हरेक वर्ष तीज गीतलगायत विभिन्न विधाका गीत सार्वजनिक गर्दै आएकी छिन्। औपचारिक संगीत यात्राबाट करिअर सुरु गरेकी उनी २०८० को ‘विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड’ विजेता पनि हुन्।
‘तिम्रो बोली अघाइन सुनेर’ गीतले दर्शक–श्रोताको मन जित्ने विश्वास गरिएको छ।