काठमाडौं । भारतीय राज्य दिल्लीको नयाँ मुख्यमन्त्री भारतीय जनता पार्टी (भाजपा) की विधायक रेखा गुप्ता हुने भएकी छन् । आज (बुधबार) साँझ बसेको भाजपा विधायक दलको बैठकले मुख्यमन्त्रीको नाम घोषणा गरेको हो ।
यस्तै प्रवेश वर्मा उपमुख्यमन्त्री र विजेन्द्र गुप्ता विधानसभा अध्यक्ष हुने भएका छन् । भाजपाले रविशंकर प्रसाद र ओम प्रकाश धनखरलाई पर्यवेक्षक बनाएको थियो । दुवै जनाले विधायक दलको बैठकअघि भाजपाका सबै विधायकसँग एक–एक गरी कुरा गरेका थिए । यसपछि दलको बैठकमा सतीश उपाध्याय र विजेन्द्र गुप्ताले रेखा गुप्ताको नाम प्रस्ताव गरेपछि मुख्यमन्त्रीको नाम घोषणा गरियो ।
मुख्यमन्त्रीको शपथ ग्रहण बिहीबार (फेब्रुअरी २०) दिउँसो १२ः३५ बजे रामलीला मैदानमा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्लीका मुख्य सचिवले पठाएको निमन्त्रणामा मुख्यमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ हुने उल्लेख छ । हालै सम्पन्न दिल्ली विधानसभा चुनावमा बहुमत ल्याउँदै भाजपा २७ वर्षपछि दिल्ली सत्तामा फर्किएको हो ।
दिल्ली विधानसभा चुनाव २०२५ मा भाजपाले ४८ सिट जित्यो भने आम आदमी पार्टी २२ सिटमा खुम्चियो । कंग्रेसले भने यस पटक एउटा पनि सिट जित्न सकेन । नयाँदिल्लीको सत्तामा भाजना २७ वर्षपछि पुनरागमन गरेको हो । नव नियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह विहीबार मध्याह्न रामलिला मैदानमा हुने बताइएको छ ।