प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीको पहिलो बैठक सम्पन्न (तस्बिर सहित)

 

रूपन्देही, फागुन- ७ । साहित्य समाजको युगीन तथा सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति हो । जसले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्छ।

May be an image of 11 people, people smiling, temple and text

असमानता, अन्याय, शोषण र दमनका विरुद्ध साहित्यलाई प्रगतिशील दिशामा प्रवाहित गर्दै जनताको आवाजलाई कलात्मक रूपमा प्रस्तुत गर्नु साहित्यको प्रमुख दायित्व हो। यही उद्देश्यलाई आत्मसात् गर्दै प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीले दसौं जिल्ला अधिवेशनपछिको पहिलो बैठक तथा पद हस्तान्तरण कार्यक्रम बुधबार बुटवलमा सम्पन्न गरेको छ।

बैठकमा नयाँ कार्यसमितिको औपचारिक पदस्थापन गर्दै साहित्यलाई समाज रूपान्तरणको सशक्त माध्यमका रूपमा स्थापित गर्ने संकल्प गरिएको छ।

बैठकले संस्थाको सल्लाहकार समितिमा पूर्वअध्यक्षहरू प्रा.डा. कृष्णचन्द्र शर्मा, प्रा.डा. कपिलदेव लामिछाने, प्रा.डा. हिरण्यलाल ज्ञवाली, गोपीरमण उपाध्याय, डा. मुरारी पराजुली, प्रदीप प्रधान, देवेन्द्र घिमिरे, दलबहादुर गुरूङ र कविराज पौडेल चयन भएका छन्।

May be an image of 6 people, people smiling, speaker and text

नवनिर्वाचित अध्यक्ष कृष्ण गाउँलेले साहित्यिक आन्दोलनलाई थप सशक्त बनाउनका लागि नयाँ योजनाहरू प्रस्तुत गरे । जसलाई बैठकले पारित गर्दै कार्यक्रम संयोजक तथा सदस्य तोकिएको छ ।

May be an image of 3 people, dais and text

प्रमुख कार्यक्रमहरूमा प्रशिक्षण कार्यक्रम सञ्चालन, दर्शन पाठशाला सञ्चालन, विशेष साहित्यिक दिवसहरू मनाउने, प्रगतिशील साहित्य यात्रा, स्थानीय तहमा पालिका कमिटी विस्तार, प्रगतिशील कला-साहित्य महोत्सव, सम्मान तथा पुरस्कार अक्षयकोष, आकस्मिक उपचार सहयोग अक्षयकोष, कार्यालय व्यवस्थापन, पठन संस्कृति प्रवर्द्धनका कार्यक्रमहरु, वेबसाइट निर्माण, वामपन्थी घटकहरूसँग अन्तरक्रिया सञ्चालन गर्ने जस्ता कार्ययोजनाहरू पारित गरिएको छ।

May be an image of 8 people and text

बैठकमा निवर्तमान कार्यसमितिबाट हरहिसाब हस्तान्तरण गरिएको थियो। साथै बैंक खाता सञ्चालनको निर्णय समेत पारित गरियो।

बैठकमा निर्वाचन समिति संयोजक तथा पूर्वअध्यक्ष डा. मुरारी पराजुलीले प्रगतिशील साहित्यिक आन्दोलनको ऐतिहासिक पृष्ठभूमि र यसको सिद्धान्तलाई उजागर गर्दै वर्तमान समयमा यसको आवश्यकता र महत्त्व बारे चर्चा गरे। उनले साहित्यलाई वर्ग संघर्षको माध्यमका रूपमा अघि बढाउँदै उत्पीडित वर्गको आवाजलाई सशक्त रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए। उनले संगठनलाई वैचारिक रूपमा थप परिष्कृत बनाउँदै समाज परिवर्तनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।

May be an image of 11 people, people smiling, temple and text

केन्द्रीय सचिव दलबहादुर गुरुङले साहित्यलाई केवल मनोरञ्जनको साधन नभई सामाजिक रूपान्तरणको शक्तिशाली अस्त्रको रूपमा देख्नुपर्ने बताए। उनले प्रलेसको भूमिका अझ व्यवस्थित, संगठित र गतिशील बनाउने आवश्यकता रहेको उल्लेख गर्दै, विशेष गरी श्रमजीवी वर्गको पक्षमा वामपन्थी चेतना बोकेको साहित्य सिर्जना गर्नुपर्नेमा जोड दिए।

May be an image of 6 people, people smiling, speaker and text

केन्द्रीय सदस्य हृदय लेकालीले समाजवादी यथार्थवादको साहित्यिक सौन्दर्यशास्त्रको अपरिहार्यता औंल्याए। निवर्तमान अध्यक्ष कविराज पौडेलले आफ्नो कार्यकालको समीक्षा गर्दै नयाँ नेतृत्वलाई सफलताको शुभकामना दिए। उनले प्रगतिशील साहित्यिक आन्दोलनलाई अझ विस्तार गर्दै संगठनलाई जनताको साहित्यिक र सांस्कृतिक अभियानका रूपमा स्थापित गर्नुपर्ने बताए।

लुम्बिनी प्रदेश उपाध्यक्ष तिलक लामिछानेले साहित्यको सामाजिक उत्तरदायित्वबारे चर्चा गर्दै श्रमिक, किसान, मजदुर तथा उत्पीडित समुदायको आवाज बुलन्द बनाउने साहित्य सिर्जना गर्नुपर्ने बताए। पूर्व सहसचिव सिता काफ्लेले विशेष गरी महिला साहित्यकारहरूको सहभागिता, योगदान र नेतृत्वबारे चर्चा गरिन्।उनले महिला स्रष्टाहरूको सिर्जना, प्रशिक्षण र अवसरका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्ताव राखिन् । कार्यक्रमको सञ्चालन सचिव यज्ञलाल सुवेदीले गरेका थिए ।

बैठकमा प्रस्तुत यी मन्तव्यहरूबाट प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीले साहित्यलाई सामाजिक न्याय र परिवर्तनको सशक्त माध्यमका रूपमा अघि बढाउने, संगठनलाई थप व्यवस्थित बनाउने र नवप्रवर्तनशील गतिविधिहरूलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

समाजवादी यथार्थवादको साहित्यिक सौन्दर्यचिन्तनलाई आत्मसात् गर्दै सङ्घले श्रमजीवी वर्गको सशक्तिकरण, वैज्ञानिक चेतनाको प्रवर्द्धन, र उत्पीडित वर्गको आवाजलाई साहित्यमा सशक्त रूपमा उतार्ने लक्ष्य लिएको छ।