काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सन् २०२४ मा एक हजार ८१ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको तथ्याङ्क अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले सार्वजनिक गरेको छ ।
इन्सेकको कार्यालय धनगढीले बुधबार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२५ र सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था’ विषयमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
सन् २०२४ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट प्रदेशभरि एक हजार ९९ जना पीडित भएका इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले जानकारी दिनुभयो ।
संयोजक जोशीका अनुसार सन् २०२४ मा प्रदेशमा मानव अधिकार उल्लङ्घनका ११ घटनामा एक महिला र १० पुरुष गरी ११ जना तथा ज्यादतीका एक हजार ७० घटनामा एक हजार ९४ महिला र ३४ जना पुरुष गरी एक हजार ८८ जना पीडित भएका छन् ।
राज्य पक्षबाट भएको कुटपिटका घटनामा दुई, गिरफ्तारीका घटनामा छ, जेलमा मृत्यु भएका घटनामा एक, हिरासतमा मृत्यु एक र अमानवीय व्यवहार घटनामा एक गरी ११ जना पीडित भएको तथ्यांकमा उल्लेख छ ।
यस्तै, गैह्र राज्य पक्षबाट कुटपिट तथा धारिलो हतियार प्रहारबाट हत्या घटनामा नौ, घाइते ११, बाल अधिकारका घटनामा १०५, जातीय विभेदका तीन, महिला अधिकारका घटनामा ९४७, अमानवीय व्यवहारका दुई, कुटपिटका आठ र धम्कीका घटनामा तीनजना पीडित भएका छन् ।
संयोजक जोशीले सन् २०२३ को तुलनामा सन् २०२४ मा पीडितको सङ्ख्यामा कमी आएको बताउनुभयो । सन् २०२३ को तुलनामा सन् २०२४ मा पीडित हुनेको सङ्ख्यामा १०२ जनाले कमी आएको छ ।