भूमिकास्थान नगरपालिकाद्धारा बजार अनुगमनमा तिब्रताः मापदण्ड बमोजिम कारोबार गर्न अपिल

 

-गोपाल प्रसाद भट्टराई

फागुन–९,अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले बजार अनुगमनलाई तिब्र पारेको छ । उद्योगी, व्यसायी र उभोक्ता सचेतताको लागि पालिकाले बजार अनुगमनलाई गतिशिलता दिएको हो । जसअन्तरगत भूमिकास्थानले बिहिबार वडा नम्बर ७ को विभिन्न पसलहरुमा अनुगमन गरेको छ ।

भूमिकास्थान ७ को कमलपोखरी, सेतीपोखरी र पाण्डाँडा क्षेत्रमा संचालित विभिन्न किसिमका १४ वटा पसल तथा व्यवसायहरुमा अनुगमन गरिएको अनुगमन टोली संयोजक शंकर अधिकारीले जानकारी दिनुभएको छ । यि क्षेत्रमा रहेका किराना पसल, होटल सहित सबैखाले ब्यापारिक पसलहरुमा अनुगमन भएको हो ।

अनुगमनको क्रममा भेटिएका म्याद नाघेका र लेभलिङ्ग नभएका करिब ५ हजार रुपैंया बराबरको सामान जफत गरी प्रहरी र सरोकारवालाको रोहबरमा नष्ट गरिएको नगरपालिकाले जनाएको छ ।

कतिपय पसल तथा व्यवसाय दर्ताबिनै संचालनमा ल्याएको, किराना पसलमा खाद्य र अखाद्य वस्तु एकै ठाउँमा राखिएको, मुल्य सुची नटाँसीएको, साइनबोर्ड नराखिएको पाइएको छ । यस्तै होटलहरुमा खानेकुरा नछोपिकन खुल्ला ठाउँमा राखिएको, सरसफाईमा ध्यान नदिइएको भेटिएपछि अनुगमन टोलीले सुझाव सहित प्रक्रिया पु¥याएर व्यवसाय संचालन गर्न ३५ दिनको समय तोकेको छ ।

अनुगमनको क्रममा व्यवसायी तथा उपभोक्ताहरुलाई खाद्य सचेतता र सावधानी अपनाउन भूमिकास्थान–७ का वडाध्यक्ष रामचन्द्र ढुङ्गानाले आग्रह गर्नुभएको छ ।पहिलो पटक सम्झाई–बुझाई गरेपनि पटक–पटक गल्ती नसुधार्ने ब्यापारीलाई कार्बाही र जरिवाना तिराउने अभ्यास समेत अगाडि बढाइएको अनुगमन टोली संयोजक शंकर अधिकारीको भनाई छ ।

अनुगमन टोलीमा भूमिकास्थान नगरपालिकाको सहकारी तथा उद्योग शाखा प्रमुख तथा बजार अनुगमन निरिक्षण अधिकृत शंकर अधिकारी, सहित वडा नम्बर ७ का जनप्रतिनिधि, कृषि प्राविधिक युवराज आचार्य, राजश्व शाखा प्रमुख जगत भुसाल, वडा नम्बर ७ का सचिव प्रकाश नेपाली, खिल्जी प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरिक्षक सुर्य प्रसाद भट्टराई, हवल्दार चन्द्र बहादुर ओली लगायतको सहभागिता रहेको थियो ।