-बसन्त खड्का,अर्घाखाँची डट्कम।
सन्धिखर्क, अर्घाखाँची – नेपाल मगर संघ सन्धिखर्क नगर समितिको आयोजनामा ४३औं मगर दिवस भव्य रूपमा सम्पन्न भएको छ।
मगर समुदायको पहिचान, एकता र सांस्कृतिक विविधतालाई झल्काउने यस उत्सवले सन्धिखर्क नगरलाई उल्लासमय बनायो।
विभिन्न परम्परागत पोशाकमा सजिएका मगर युवायुवती, वृद्धवृद्धा तथा बालबालिकाहरूको सहभागितामा झाँकीसहितको र्याली सन्धिखर्क चुत्राबेसी बजार परिक्रमा गर्दै हललाइन पार्टी प्यालेसमा सभामा परिणत भएको थियो।
उक्त सभाले मगर समुदायको हकअधिकार, पहिचान संरक्षण तथा स्थानीय तहमा मगर दिवसको औपचारिक मान्यता दिने विषयमा विशेष छलफल गर्यो।
सभाका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज टोप बहादुर बरालले मगर समुदाय संसारभर छरिए पनि आफ्नो हकअधिकारका लागि एकजुट हुनुपर्नेमा जोड दिए।
नेपाल मगर संघका जिल्ला सल्लाहकार खेम घर्ती मगरले भु्मिकास्थान नगरपालिका सितगंगा नगरपालिकाले मगर दिवसको अवसरमा विदा दिँदै आएको उल्लेख गर्दै सन्धिखर्क नगरपालिकाले पनि विदा दिनुपर्ने माग गरे।
कार्यक्रमको अध्यक्षता वीर बहादुर घर्ती मगरले गरेका थिए भने ओम रोकाले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रमको कुशल सञ्चालन इन्द्र गोलाङ मगरले गरेका थिए।
सांस्कृतिक कार्यक्रमसहित सम्पन्न यस भव्य समारोहले मगर समुदायको गौरवमय इतिहास, भाषा, संस्कृति र परम्परालाई उजागर गर्दै समुदायलाई अझै सशक्त बनाउने विश्वास दिलाएका थिए।
थप तस्बिर :