-बसन्त बहादुर खड्का, अर्घाखाँची डट्कम।
अर्घाखाँची : सन्धिखर्क नगरपालिका वार्ड नं. ७ मा स्थित ऐतिहासिक र प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिर संरक्षण समितिको १३ औं साधारणसभा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा पानसमा बत्ती बालेर भव्यताका साथ सम्पन्न भएको छ।
साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले मन्दिरको व्यवस्थापन र संरक्षणमा सुधार ल्याउने काममा जोड दिनुभयो। उहाँले नयाँ समितिलाई सुपा देउराली मन्दिरलाई सफा, आकर्षक र पारदर्शी बनाउने दिशामा काम गर्न निर्देशन दिनु भयो।
यसका लागि प्रदेश सरकारले मन्दिर व्यवस्थापनको लागि बजेट र स्रोतको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउँदै, मन्दिरको अवस्थालाई सबै पक्षले साझा जिम्मेवारीका रूपमा लिने आवश्यकता रहेको बताउनुभयो।
मुख्यमन्त्री आचार्यले भन्नुभयो, “हामीले सुपा देउराली मन्दिरलाई केवल धार्मिक स्थलको रूपमा मात्र नभएर, यसको ऐतिहासिक र सांस्कृतिक पर्यटकीय महत्त्वलाई पनि उजागर गर्नुपर्नेछ। यहाँ आउने दर्शकहरूलाई एक उत्कृष्ट अनुभव दिनका लागि सबैको साझा प्रयास हुनु आवश्यक रहेको बताउनु भयो।
प्रदेश सांसद रामजी प्रसाद घिमिरेले मन्दिर नजिकका पसलहरूलाई छुट्टै व्यवस्थापन गरेर फराकिलो बनाउनुपर्ने र यसले मन्दिरको वातावरणलाई अझ आकर्षक बनाउन मद्दत पुर्याउने सुझाव दिनुभयो। उहाँले देश–विदेशबाट आउने दर्शकलाई खुसी बनाउन सबै जनतालाई सहकार्य गर्न आह्वान गर्नुभयो।
अर्घाखाँची जिल्ला समन्वय प्रमुख जीवनारायण कोईरालाले सुपा देउराली मन्दिरमा आउने दर्शनार्थीलाई प्रचलित सेवाहरूमा मुस्कानका साथ सेवा दिनका लागि होटल, फूलमाला र यातायात व्यवसायीहरूलाई ध्यान दिनुपर्ने आवश्यकता व्यक्त गर्नुभयो।
मुख्य जिल्ला अधिकारी बाबुराम अर्यालले मन्दिरको वार्षिक प्रतिवेदन सुधार्न दक्ष कर्मचारीहरूको आवश्यकता रहेको सुझाव दिनुभयो।
हिन्दू धर्म रक्षा परिषदका केन्द्रीय अध्यक्ष नारायण प्रसाद खनालले हिन्दू धर्मको पहिचान र यसको महत्वको बारेमा प्रशिक्षण दिन आफू तयार रहेको जनाउनुभयो। उहाँले भारतीय प्रयागराजमा कुम्भ मेलाले हिन्दू धर्मको शक्तिशाली सन्देश दिएको बताए।
सितगंगा नगरपालिका नगर प्रमुखले अब बन्ने समितिलाई एकजुट भएर काम गर्न आग्रह गर्दै सन्धिखर्क नगरपालिका र सितगंगा नगरपालिकाबीच सुपा देउराली मन्दिरको साध सिमाको विषयमा गहन छलफल आवश्यक रहेको बताउनुभयो।
थप तस्बिर: