-अनिल नेपाली , बुटवल ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले उद्यमशिलताबाटै महिलाहरुलाई आर्थिक सशक्तिरकण बनाउन सकिने जनाउनु भएको छ । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्नु हुँदै सभामुख घर्ती मगरले राजनीतिक तथा आर्थिक अधिकारले महिला सशक्तिरकणको नारालाई सार्थकता तुल्याउने जनाउनु भएको हो ।
राजनीतिक तवरबाट नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाईदै आएको छ ।
हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । सभामुख घर्ती मगरले महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, विभिन्न चरणका आन्दोलन, संघर्ष र क्रान्ति लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर गरेको नेतृत्वदायी भूमिका अविस्मरणीय र अतुलनीय रहेको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । ” दिवसको सन्दर्भमा यस तथ्यको स्मरणले मुक्ति र स्वतन्त्रताको विषयमा अझै गम्भिर तुल्याएको छ ।” शुभकामना सन्देशमा उल्लेख छ- “अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा न्यायप्रेमी महिला दिदी बहिनीहरुले नेपालको राजनीतिक परिवर्तनमा पुर्याएको योगदानको म उच्च सम्मान व्यक्त गर्दछु ।”
नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणका क्षेत्रमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय बनेको तथ्यलाई अझै मजवुद बनाउन महिला मैत्री नीति र व्यवहार अंगिकार गर्दै लैङ्गिक समानताको बलियो आधार बनाउन जरुरी रहेको सभामुख घर्ती मगरले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।
“नेपालको संविधानमा महिला मुक्तिको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको छ ।
सामाजिक, राजनीतिक, सांस्कृतिक संगै आर्थिक अधिकारमा महिलाहरुको अग्राधिकार सुनिश्चितताको लागि तिन तहको सरकारले राज्य संरचनामा महिला प्रतिनिधित्व र समाजमा महिला सशक्तिकरणमा अझै बढी ध्यान पु¥याउनेछ भन्ने विश्वास लिएको छु । ” शुभकामना सन्देशमा उल्लेख छ ।
लुम्बिनी प्रदेश सभा महिलाको हक अधिकार स्थापित गर्न र सशक्तिकरणको लागी प्रतिवद्ध रहेको जनाउनु हुँदै उहाँले सबै महिला तथा बालवालिकाको लागि अधिकार, समानता र सशक्तिकरण” भन्ने यो वर्षको दिवसको राष्ट्रिय नारालाई वास्तवमा सार्थक तुल्याउन सरोकारबालाहरु सबै सोही अनुसार जिम्मेवार भएर लाग्न जरुरी रहेको उल्लेख गर्नु भएको छ। “व्यवसायीक र उद्यमशिलताबाटै महिलाहरुलाई आर्थिक सशक्तिरकण बनाउन यो दिवसले अभिप्रेरित गर्न सकोस् सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।” शुभकामना सन्देशमा उल्लेख छ ।