भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित चार दिने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ सकिएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो ।
त्रिपिटक पाठको शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समापन गरे । समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका उपदेशलाई विश्वभर फैलाउन आग्रह गरे । उनले बुद्धको शिक्षा र उपदेशलाई आत्मसात गरी शान्ति, करुणा र सहअस्तित्वको भावना फैलाउन सकिने बताए । उनले बुद्ध शिक्षाले विश्वलाई शान्ति र सहिष्णुताको मार्गमा अघि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई विश्वभर चिनाउन लुम्बिनीमा धार्मिक तथा सांस्कृतिक गतिविधिहरू बढाउँदै लैजानुपर्ने बताए । उनले बुद्धजन्मस्थल लुम्बिनीमा भएको त्रिपिटक पाठले लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रबद्र्धनमा महत्वपू्र्ण योगदान गर्ने बताए ।
यस्तै कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी बुद्धजन्मस्थल भएकाले विश्वभरका बौद्धमार्गीहरुको आस्थाको केन्द्र भएकाले यहाँ आउदा बुद्धलाई साक्षात भेटेजस्तो हुने बताए । उनले बुद्धका महत्वपूर्ण चार स्थानमध्ये जन्मस्थाल लुम्बिनी सबैभन्दा महत्वपूर्ण रहेकोले संसारभरका शान्तिप्रेमीहरुलाई एकपटक लुम्बिनी भ्रमण गर्न आग्रह गरे । उपाध्यक्ष लामाले बौद्ध भिक्षु तथा लामाहरुले बुद्धको शिक्षालाई बचाईराख्न जीवन अर्पण गरेको स्मरण गर्दै राज्यलाई सम्मान गर्न आग्रह गरे । उनले नेपाल सरकारले भगवान बुद्धको उपदेश फैलाउन र लुम्बिनीमा आध्यत्मिक गतिविधि बढाउन भूमिका नखेलेको गुनासो गरे ।
उपाध्यक्ष लामाले बुद्धको उपदेशलाई त्रिपिटक पाठले विश्वभर फैलाउन महत्वपूर्ण योगदान गरेको बताउँदै आगामि बर्ष अझ यसलाई ठूलो संख्यामा गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरले भगवान बुद्धको उपदेशहरु वैज्ञानिक र समयसापेक्ष रहेको बताए । उनले त्यहि बुद्धका उपदेशहरुलाई चारदिनसम्म बुद्धजन्मस्थलमा पाठ गर्दा त्यसबाट सकरात्मक उर्जा पैदा गरेको बताए ।
यस्तै लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले त्रिपिटक पाठले लुम्बिनीको पर्यटन प्रवद्र्धनसँगै बुद्धशिक्षालाई अन्तर्राष्ट्रियकरण गराउन महत्वपूर्ण योगदान दिएको बताए ।
कार्यक्रममा इन्टरनेश्नल त्रिपिटक च्यान्टिङ कमिटिका संस्थापक उपासिका वाङ्मो डिक्सीले बुद्धको उपदेश लुम्बिनीमा बसेर पाठ गर्न पाउनु जीवनकै अमूल्य उपलब्धी भएको बताईन । कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी होटल व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा लगायतले बोलेका थिए । उक्त अवसरमा त्रिपिटक कार्यक्रमका लागि सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको महासंघका प्रचार संयोजक भिक्षु बिमलो महास्थविरले जानकारी दिए ।
गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको त्रिपिटकमा संग्रहित गरिएको छ । त्रिपिटक पाठ समारोहमा भिक्षु भिक्षुणी, लामा, आनी, उपासक उपासिका सहित ४ सय बढिको सहभागिता रहेको थियो । त्रिपिटक पाठ समरोहको बुधबार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका थिए ।