-अर्घाखाँची डट्कम सम्बाददाता , अर्घाखाँची।
अर्घाखाँची, सन्धिखर्क – सुपा देउराली मन्दिर संरक्षण समितिको १३औँ साधारणसभा सम्पन्न भएको ११ दिन बितिसक्दा पनि नयाँ कार्यसमिति गठन हुन सकेको छैन। अध्यक्ष पदमा पाँच जना उम्मेदवारबीच सहमति जुट्न नसक्दा नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको छ।
अध्यक्ष पदमा एमाले र कांग्रेसका उम्मेदवार प्रतिस्पर्धामा यसपटकको अध्यक्ष चयन प्रक्रियामा एमालेका दुई जना र नेपाली कांग्रेसका तीन जना आकांक्षी छन्।
निवर्तमान अध्यक्ष फर्स बहादुर केसी र प्रकाश थापा एमालेबाट दाबेदार छन् ।भने कांग्रेसबाट गणेश थापा, कृष्णलाल पुरी, र धनबहादुर खत्री अध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहेका छन्।
समिति गठनमा ढिलाइ, मन्दिर व्यवस्थापन प्रभावित हुने चिन्ता
पाँच जना आकांक्षीहरूले आ–आफ्नो अडान नछोड्दा नयाँ समिति चयनमा समस्या देखिएको छ। “हामी प्रयासरत छौँ, तर नेतृत्व टुंग्याउने विषयमा अझै सहमति जुट्न सकेको छैन,” एक पदाधिकारीले बताए।
स्थानीय भक्तजन तथा समुदायका सदस्यहरूले नेतृत्व विवादले मन्दिरको व्यवस्थापनमा असर पर्ने चिन्ता व्यक्त गरेका छन्। उनीहरूको भनाइ छ कि यदि सहमति नजुटेमा मन्दिरको दैनिक सञ्चालन, संरक्षण, तथा विकास योजनाहरू प्रभावित हुन सक्छन्।
मन्दिर जस्तो धार्मिक तथा सांस्कृतिक महत्त्वको स्थलमा विवाद चर्किनु उचित नभएको भन्दै स्थानीयहरूले सहमतिको माध्यमबाट समस्या समाधान गर्न नेतृत्वलाई आग्रह गरेका छन्। छिट्टै कार्यसमिति गठन गरेर मन्दिर व्यवस्थापन सुचारु गर्नुपर्नेमा सबैजना एकमत देखिएका छन्।