काठमाडौं। आइतबारदेखि लोडसेडिङ हुने भएको छ । भारतबाट विद्युत् आपूर्ति कटौती हुँदा लोडसेडिङ हुने भएको हो । भारतबाट दैनिक २० घण्टा विद्युत् आपूर्ति हुँदै आएकोमा आइतबारदेखि १२ घण्टा अर्थात् बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै आयात हुने भएको छ ।
भारतबाट दैनिक ७ सय मेगावाटसम्म विद्युत् आयात हुँदै आएकोमा अब करिब साढे ५ सय मेगावाट मात्र आयात हुनेछ । अहिले साँझको बेला विद्युत्को उच्च माग करिब १९ सय मेगावाट रहेको छ । नेपालको आन्तरिक उत्पादनबाट करिब १ हजार मेगावाट विद्युत् आपूर्ति हुँदै आएको छ ।
भारतबाट ७ सय मेगावाट आयात गर्दा पनि २ सय मेगावाटको हाराहारीमा विद्युत् अभाव हुँदै आएको थियो । विद्युत् आपूर्ति कम हुँदा औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्ने नेपाल विद्युत् प्राधिकरणको तयारी छ । हाल औद्योगिक क्षेत्रमा आठ घण्टासम्म विद्युत् कटौती हुँदै आएकोमा आइतबारदेखि भने दैनिक १२ घण्टा विद्युत् कटौती हुनसक्ने छ । औद्योगिक क्षेत्रमा विद्युत् कटौती भए पनि घरायसी ग्राहकलाई भने लोडसेडिङ नहुने प्राधिकरणको दाबी छ ।
नेपालले भारतको खुला बजार इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) बाट विद्युत् आयात गर्ने गरेको छ । एक दिनअघि (डे–अहेड) र सोही दिन (रियल टाइम) मा कायम रहेको दरमा नेपालले विद्युत् आयात गर्ने गरेको छ । नेपालले २०७८ सालमा भारतीय खुला बजारबाट विद्युत् आयात गर्न अनुमति पाएको थियो । त्यो हरेक वर्ष नवीकरण गर्नुपर्ने सर्त छ । गत वर्ष भारतले चुनाव आइरहेको भन्दै तीन महिनाका लागि मात्रै विद्युत् निर्यातसम्बन्धी सम्झौता नवीकरण गरेको थियो । उक्त नवीकरणको म्याद जुन महिनामा सकिएको थियो । त्यसपछि भारतले नोभेम्बरमा नवीकरण गरेको थियो ।
त्यसबेला सम्झौता नवीकरण गर्दा १५ मार्चसम्म दैनिक २० घण्टा नेपालमा विद्युत् निर्यात गर्न दिने तथा त्यसपछि ३० जुनसम्म सोलर आवर बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मा मात्रै विद्युत् दिने भएको थियो । गत फेब्रुअरीमा नेपाल र भारतबीच प्रोजेक्ट स्टेयअरिङ कमिटी (पीईसी) को बैठकमा बैठकले नेपालले चाहेका बेला आयात गर्दा तिर्नुपर्ने नयाँ दर तोकेको हो । निर्यात गर्दा समेत उक्त दर लागू हुने जनाइएको छ । बैठकले मार्चसम्मका लागि तय गरिएको दरमा १ दशमलव ५ प्रतिशत मात्र वृद्धि हुने व्यवस्था गरिएको छ । सो सहमति गरेकोमा ऊर्जा मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमा घिसिङलाई स्पष्टीकरण सोधेको छ ।