काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पूनर्स्थापनाका लागि आन्दोलनमा जाने घोषणा गरेको छ । आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गर्नेछन् ।
कार्यसम्पादन समितिको बैठकले आन्दोलनका लागि समान विचार भएका व्यक्ति, समूह र दलसंग पारस्परिक एकता, संवाद र सहकार्यको पहल गर्ने निर्णय गर्दै त्यसका लागि अपिल पनि गरेको छ ।
आउँदो चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मुल समितिको बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
‘राप्रपाले राजसंस्था, हिन्दु राष्ट्रको पुनस्स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न स्थानका पूर्वघोषित कार्यक्रमहरुलाई निरन्तरता दिनेछ। साथै, राप्रपाको नेतृत्वमा हुने आन्दोलनको कार्यक्रमहरु तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बस्नेछ र आन्दोलनका आगामी कार्यक्रमहरु तय गर्ने निर्णय गरिएको छ। राप्रपाले आन्दोलन र संगठनलाई संगसंगै लैजाने र आन्दोलनको घोषणापछि पार्टीका सबै गतिविधिहरु आन्दोलन केन्द्रीत गर्ने निर्णय लिएको छ।’ श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘देशले भोगिरहेको कठिन अवस्था, शिथिल अर्थतन्त्र, तिव्र भ्रष्टाचार नियन्त्रण र आम जनतामा व्याप्त सामुहिक निराशा चिर्न कांग्रेस-एमालेको सरकार पूर्णत: असफल’ रहेको राप्रपाको निश्कर्ष छ। सबैलाई स्विकार्य हुने राजासहितको ‘नवीन समझदारी’ उपयुक्त विकल्प भन्दै राप्रपाले कसैलाई निषेध नगर्ने ‘नवीन समझदारी’का लागि तयार हुन राप्रपा सम्पूर्ण राजनीतिक दललाई आग्रह गरेको छ ।