निर्वाचनको सुनिश्चितताको माग गर्दै स्वतन्त्र उम्मेदवार पदमा भुसालको त्रिवीमा निर्वाचन कार्यालय अगाडी धर्ना

 

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा स्वतन्त्र तर्फबाट सभापतिको उम्मेदवार रहेकी पदमा भुसालले आज प्रिन्सिपल अफिस तथा निर्वाचन कार्यालय अगाडि निर्वाचनको सुनिश्चितताको माग गर्दै धर्ना बसेकी छन्। पटकपटक गर्दै चैत्र ८ गतेको लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पनि कार्यतालिका बमोजिम अगाडि नबढेको भन्दै ८ गते नै निर्वाचन गर्न दबाब दिने हिसाबले धर्नामा बसेको उम्मेदवार पदमा भुसालले जानकारी गराइन्।

विद्यार्थीको हक हितको लागि गठन गरेको स्वतन्त्र विद्यार्थी युनियन को निर्वाचनले नै विद्यार्थीको पठनपाठन र परीक्षाका तालिकाहरू प्रभावित गरेको छ। यसरी परीक्षा तालिकाहरू प्रभावित हुँदा विद्यार्थीका आगामी भविष्यका योजनाहरुमा असर पर्ने देखिन्छ तसर्थ निर्वाचन तोकिएको मितिमा गर्नैपर्ने उनले बताइन्।

त्रिभुवन विश्वविद्यालय क्याम्पसमा निर्वाचनमा भाग लिन नपाएको बहानामा वा उम्मेदवारी खारेज भएको बहाना गरेर एक पक्षले तालाबन्दी गरेको छ। तर प्रशासन निरीह बनेर ताला खोल्न पनि सकेको छैन निर्वाचन प्रक्रिया अगाडि बढाउन पनि सकेको छैन। त्रिवी प्रशासन यति निरीह र कमजोर आजसम्म नदेखेको पदमाले बताइन्। उनी अगाडि थप्छिन् विद्यार्थीको हकहितकै लागि निर्वाचनमा भाग लिन्छु भनेको व्यक्ति वा संगठनले नै यसरी निर्वाचन प्रक्रिया अवरुद्ध गर्नु निर्वाचन समितिलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्न खोज्नु निन्दनीय खेतजनक र अचम्मित तुल्याउने खालकै छ।

स्वतन्त्र उम्मेदवार पदमा अहिलेको वर्तमान स्ववियुमा कोषाध्यक्ष छन्। आफू बलियो दावेदार हुँदाहुँदै पनि आफूलाई पूर्ण रुपमा अवज्ञा गर्दै संगठनले अर्को उम्मेदवारहरू खडा गरेपछि आफूले स्वतन्त्र रूपमा सभापतिमा उम्मेदवारी दिएको र त्रिभुवन विश्वविद्यालय क्याम्पसमा पहिलो महिला सभापतिको उम्मेदवार आफू नै रहेको पदमाको दाबी छ।

विश्वविद्यालय क्षेत्रलाई चौबीसै घण्टा सुरक्षित पठनयोग्य, लैङ्गिक हिंसामुक्त, रिसर्चको सेन्टर, दक्ष जनशक्ति उत्पादनको सेन्टर, बनाउने लगायतका विभिन्न मुद्दाहरू उठाउँदै स्वतन्त्र रुपमा सभापतिको उम्मेदवार बनेकी पदमाले आफूले जित्ने माहोल बनेकोले डराएर अरु पक्षहरु निर्वाचन गराउने नखोजेको आफ्नो बुझाइरहेको बताइन्।

तर स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थीहरूको साझा संस्था र प्रतिनिधिमूलक संस्था पनि भएको हुनाले यसको निर्वाचन हुन अपरिहार्य छ र अब तालिका प्रभावित नगरी चैत्र ८ मा निर्वाचनको सुनिश्चितता भएन भने आफ्नो धर्ना कार्यक्रम निरन्तर रहने पनि उनले बताइन्।